सर्लाही । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट पेस्तोल बरामद भएको छ। प्रहरीले पेस्तोलसहित मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
मिति २०८३ असोज १९ गते राति करिब १ बजे जनकपुरबाट मदनपुरस्थित घरतर्फ आउँदै गरेको BR30Y 2853 नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
दुर्घटनामा कबिलासी नगरपालिका–३ मदनपुरका ३३ वर्षीय तुलसी ठाकुर घाइते भएका छन्। उनको दाहिने गाला र बायाँ हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि जाँच गर्ने क्रममा ठाकुरको साथबाट सिक्सर पेस्तोल एक थान फेला परेको थियो। प्रहरीले उक्त पेस्तोल बरामद गरी ठाकुरलाई नियन्त्रणमा लिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
