चितवन । चितवनमा बिलबिजकबिना मोबाइलको कारोबार तथा ओसारपसार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० स्थित मोबाइल पसलबाट पसल सञ्चालक दिपक प्रसाईंलाई बिलबिजकबिना मोबाइल बिक्री वितरण गरिरहेको अवस्थामा पक्राउ गरिएको हो।
प्रहरीले प्रसाईंको पसलबाट विभिन्न सिरिजका एप्पल कम्पनीका आइफोन ५० थान, सामसुङका ४ थान, रेड्मीका २ थान, एप्पलका आइप्याड १ थान र भिभोका १ थान बरामद गरेको जनाएको छ।
त्यस्तै, भरतपुर महानगरपालिका–९ रामनगरमा बिलबिजकबिना मोबाइल फोन ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले तनहुँ व्यास नगरपालिका–२ का २८ वर्षीय उमनन्द भुसाललाई पक्राउ गरेको छ। उनको साथबाट विभिन्न कम्पनीका बिलबिजकबिना ५ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद मोबाइलसहित पक्राउ परेका दिपक प्रसाईं र उमनन्द भुसाललाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्ज, पर्सा पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
उनीहरुलाई यही असोज १८ गते पक्राउ गरिएको हो ।
प्रहरीले बिलबिजकबिना हुने मोबाइललगायतका सामग्रीको कारोबार तथा ओसारपसार नियन्त्रणका लागि निगरानी बढाएको जनाएको छ।
