डोटी । डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बुधबार बिहान ८ः४५ बजे गैरा बजारबाट मेलखर्कतर्फ जाँदै गरेको सु.प.प्र.०१००२ त ४९१० नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब १२० मिटर तल खसेर दुर्घटना भएको हो ।
ट्याक्टर डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २३ वर्षीय प्रकाशबहादुर थापा मगरले चलाएका थिए ।
दुर्घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी घण्टेश्वरबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो । प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पठाएको जनाएको छ ।
दुर्घटनामा जोरायल गाउँपालिका–१ चपरचानीका ३३ वर्षीय अमर सिजाली मगर, ४६ वर्षीय डम्बर थापा, १८ वर्षीय भरत थापा मगर र १८ वर्षीय विवस थापा मगर घाइते भएका छन् ।
त्यस्तै, जोरायल–१ गोगनपानीका ५२ वर्षीय जितबहादुर विक, धानाकोटका ३२ वर्षीय रुपलाल विक र ३२ वर्षीया अनिषा विक, सपुरसानीका ३५ वर्षीय हर्कबहादुर थापा मगर तथा भानाकोटकी ३ वर्षीया करिश्मा विक घाइते भएका छन् ।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
