धनुषा । सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो तथा सामग्री पोस्ट गरी समाजमा हिंसा फैलाउन उक्साएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार लक्ष्मीनिया गाउँपालिका–१ बस्ने २० वर्षीय अन्दाजी राजु यादवलाई पक्राउ गरिएको हो। उनले समाजमा हिंसा फैलाउन उत्प्रेरित गर्ने, विभिन्न व्यक्ति, समुदाय तथा सङ्गठनको मर्यादामा आँच आउने गरी गालीगलौज गर्ने, आपत्तिजनक शब्द प्रयोग गर्ने तथा धम्क्याउने किसिमका भिडियो सामाजिक सञ्जाल टिकटकमा पोस्ट गरेको आरोप छ।
प्रहरीका अनुसार यादवलाई असोज २७ गते राति ११ बजे जनकपुर उपमहानगरपालिका–९ बाट नियन्त्रणमा लिइएको हो। उनीमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
यसैगरी, सामाजिक सञ्जालको दुरुपयोग गरी हिंसा फैलाउन उक्साउने, विभिन्न व्यक्ति, समुदाय तथा सङ्गठनको मर्यादामा आँच आउने गरी गालीगलौज गर्ने, आपत्तिजनक शब्द बोल्ने तथा धम्क्याउने किसिमका फोटो र भिडियो पोस्ट गरेको आरोपमा थप चार जनामाथि पनि अनुसन्धान तथा कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीले सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बन्न र समाजमा अशान्ति फैलाउने तथा अरूको मानमर्यादामा आँच पुर्याउने सामग्री पोस्ट नगर्न आग्रह गरेको छ।
