काठमाडौं । प्रधानमन्त्री पद सम्हालेको पहिलो दिन नै शेरबहादुर देउवालाई पद जोगाउन तनाव पर्यो । पहिलो दिन नै नेकपा एमालेका नेता माधव कुमार नेपाललाई फकाउन उनको निवास कोटेश्वर पुगेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एक महिना भित्र संसदमा विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ । विश्वासको मत प्राप्त गर्न देउवालाई माधव कुमार नेपाल समूहको मत जरुरी हुन्छ जसको लागि देउवा कोटेश्वर पुगेका हुन् । माधव नेपाललाई संसद विघटन रोक्न आफूलाई मत दिन आग्रह गरेर देउवा फर्किएका छन् ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज भर्खर माधव कुमार नेपाललाई गद्दार भनेका थिए । केपी ओलीको उक्त भनाईमा रुष्ट भएका माधव नेपाललाई फकाउन देउवा हतार हतार कोटेश्वर पुगेका हुन् । माधव नेपालले अब गठबन्धनलाई साथ दिन्न भनिसकेका थिए तर केपी ओलीको आजको टिप्पणी पश्चात माधव नेपाल रुष्ट भएको बेला फकाउन सहज हुन्छ भन्दै देउवा पुगेका हुन् ।
माधव नेपालले अहिले नै कुनै निर्णय नदिने कुरा देउवालाई उल्लेख गरेका छन् । संसद पनि जोगाउनु छ र पार्टी एकता पनि जोगाउनु छ त्यसैले म आफ्नो साथीहरु संग सल्लाह गरेर मात्र निर्णय दिन्छु भन्दै नेता नेपालले देउवाको आग्रहमा जवाफ दिएका छन् ।
आज बिहान मात्र माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठ र एमालेका नेता बामदेव गौतम माधव नेपाललाई फकाउन उनको निवास पुगेका छन् ।
