काठमाडौं । पूर्ववर्ती केपी शर्मा ओली सरकारको पालामा प्रतिपक्षी दलको सशक्त भूमिका निर्वाह गर्ने कांग्रेस सांसद हुन्, गगनकुमार थापा ।
संसद् बैठकमार्फत सरकारलाई सशक्त खबरदारी गर्ने थापाले प्रतिनिधि सभा बैठकमा उठाएको विषयले चर्चा पाउँथ्यो । तर, अहिले एमालेको सरकार विस्थापित भएर कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् ।
संसदप्रति उत्तरदायी नबनेकोदेखि जनहितका काम गर्न नसकेको र कोरोनाभाइरस संक्रमण नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको आरोप सांसद थापाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाउने गर्थे ।
ओली सरकारले दुईपटक विघटन गरेको प्रतिनिधि सभालाई सर्वाेच्च अदालतले ब्यूँताइदियो । पुनर्स्थापित संसदको आठौँ अधिवेशन चलिरहेको छ ।
सरकार गठन भएको १५ दिनभइसक्दा मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि युद्धस्तरमा स्वास्थ्य मन्त्री नियुक्त हुन सकेको छैन । दुई दिन अघि व्यवसायी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरियो । तर, यसको व्यापक विरोध भइरहेको छ ।
मेडिकल क्षेत्रमा लगानी गरेका श्रेष्ठलाई स्वार्थ बाझिने गरी स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेको विषयले सरकारको आलोचना भइरहेको छ । तर, पहिलो सरकारप्रति खबरदारी गर्ने गगन थापा कहाँ छन् भन्दै सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले आवाज उठाए ।
जस कारण मंगलबार सांसद थापाले पूर्ववर्तीले गरेजस्तै देउवा सरकारलाई कुनै पनि अपराध गर्ने छुट नभएको प्रतिनिधि सभा बैठकमा बताए ।
स्वास्थ्यमन्त्रीमा गगन थापाको नाम चर्चामा छ । तर, प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालय आफ्नो मातहत राख्ने गरी श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेको चर्चा पनि छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकको शुन्य समयमा थापाले बाहिर सिंहजस्तो गर्जिने तर भित्र लम्पसार पर्ने ओली सरकारलाई देउवा सरकारलाई छुट नहुने बताएर खबरदारी गरेका छन् ।
