जनरल इन्सुरेन्स कम्पनीको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट काठमाडौंमा मंगलबार १०.३० बजे गोलाप्रथाका माध्यमबाट आइपीओ बाँडफाँट गरिएको हो । जसमा २ लाख ७० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । ५ लाख २४ हजार ५४ जना आवेदनकर्ता भने आइपीओ हात पार्न बञ्चित भएका छन् । यसमा ७ लाख ९४ हजार जनाले आवेदन दिएकामा २ हजार १८८ जना आवेदकले ४८ हजार ६४० कित्ताका लागि दिएको आवेदन रद्ध भएको छ ।
जनरलले असोज ११ गतेबाट १४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ जारी गरेको थियो । जसअनुसार कुल सेयरमध्ये १ लाख २० हजार कित्ता अर्थात् ४%सेयर कर्मचारीले छुट्याएको थियो । यस्तै, १ लाख ५० हजार कित्ता अर्थात् ५% म्युचुअल फण्डहरुका लागि छुटयाइएको थियो । बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयरमा मात्र सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।
हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्कासन पश्चात चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं १ हात्तीसारमा रहेको छ । यस्तै, यस कम्पनीले ३७ वटा शाखा कार्यालय र १० तेस्रो पक्ष बिमा काउन्टर मार्फत् सेवा प्रदान गर्दै आएको छ ।
