काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन गरेको ३ हप्ता पुग्न लागिसक्यो तर मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । देउवाले मन्त्रिपरिषद् विस्तार गर्न नसक्नुको कारण माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ को स्वार्थ जोडिएको छ ।
प्रचण्ड अहिले माधव नेपाल समूहको निर्णय कुरिरहेका छन् । माधव नेपाल समूहलाई पनि सरकारमा सहभागी गराउनपर्छ भन्ने जोडमा प्रचण्ड रहेका छन् भने माधव नेपालले कयौं पल्ट आफू सरकारमा नजाने निर्णय सुनाईसकेका छन् । तर पनि प्रचण्ड अन्तिम घडी सम्म पनि माधव नेपाललाई फकाउन लागिपरेका छन् ।
आज बिहान प्रचण्ड र माधव नेपाल बीच अन्तिम पल्ट यस विषयमा छलफल चलिरहेको छ । कोटेश्वरमा प्रचण्ड र नेपाल बीच छलफलमा माधव नेपाल समूहलाई सरकारमा जान कन्भिन्स गराउने प्रयत्न प्रचण्डले गरिरहेका छन् ।
माधव नेपालले संसद जोगाउन शेरबहादुर देउवालाई विश्वासको मत दिएको तर आफू सरकारमा सहभागी नहुने कुरा बताईसकेका छन् तर पनि प्रचण्ड किन माधव नेपाललाई कुरेर मन्त्रिपरिषद् विस्तार गर्न ढिलाई गरिरहेका छन् भन्ने प्रश्न अहिले उब्जिन थालेको छ ।
माओवादी केन्द्रका एक सांसदका अनुसार प्रचण्डले आफ्नो स्वार्थका कारण माधव नेपाल समूहलाई सरकारमा लान कसरत गरिरहेका छन् । ती सांसदले भने , “कमरेड प्रचण्डले एमालेका अध्यक्ष केपी ओली संग को ईगोका कारण माधव नेपाललाई सरकारमा जान आग्रह गरिरहेका हुन् । यदी माधव नेपाल समूह सरकारमा गयो भने केपी ओलीले कारवाही गर्नैपर्छ र कारवाही गर्नु भनेको पार्टी फुट्नु हो । यदि एमाले फुट्यो भने माओवादी केन्द्रलाई ठूलो फाईदा पुग्नेछ साथै केपी ओली पतन पनि हुनेछन । यहि कारण प्रचण्डले जसरी पनि माधव नेपाललाई सरकारमा सहभागी गराउन खोजिरहेका छन् ।”
यदि माधव नेपाल समूह सरकारमा नगए केपी ओलीले अघिल्ला गल्तीहरुलाई माफी दिएर पार्टी मिलेर चलाउन पहल चालिरहेका छन् । माधव नेपाल समूह र केपी ओली एक भएमा एमाले पार्टीको बर्चस्व कायम नै रहने हुँदा माओवादी केन्द्रलाई ठूलो धक्का पर्ने सक्ने आकलन गरेर प्रचण्डले माधव नेपाललाई सरकारमा लैजान कोशिष गरिरहेका छन् ।
माधव नेपाल समूहका शिर्ष नेताहरुले अहिले सरकारमा जानु गलत निर्णय हुने बताईसकेका छन् तर प्रचण्ड र उपेन्द्र यादवले नेपाल समूहका केहि सांसदहरुलाई उचालेर सरकारमा जान आग्रह गरिरहेका थिए जसका कारण केहि सांसदहरु प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न उनको निवास समेत पुगेका थिए ।
माधव नेपाल निकट नेताका अनुसार प्रचण्डले जत्ति नै प्रयत्न गरे पनि माधव नेपालले सरकारमा जाने निर्णय गर्नुहुन्न र यदी त्यस्तो निर्णय गर्नुभयो भने त्यो पार्टी फ़ुट्को दोषी ठहरिने छ ।
