काठमाडौं । पूर्ववर्ती सरकारलाई चुनौती दिएर बनेको वर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।
सत्ता सम्हालेको मंगलबार २२औं दिन भइसक्दा पनि प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको विवादले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका हुन् ।
कांग्रेसकै पनि केही आन्तरिक विवादले देउवालाई सामान्य असर गरेको भए पनि मन्त्रिपरिषद् विस्तारमा प्रमुख सत्ता साझेदार दल माओवादी केन्द्र, एमालेको नेपाल समूह र जसपाको कारण ढिलाइ भएको हो ।
तर, जसपाको विवाद सकिएको छ । अब माओवादी केन्द्रले मन्त्री हुनेको नाम टुंग्याउन नसक्दा र नेपाल समूह सरकारमा आउने या नआउने भन्ने ठोस निर्णय नहुँदा सरकारले पूर्णता नपाएको हो । यो सतहमा देखिएको विषय हो ।
ओली र प्रचण्डको इगोले देउवा सकसमा
मन्त्रिपरिषद्ले पूर्णता नपाउनुको कारण गठबन्धनमा आवद्ध दलहरुको आन्तरिक समस्या सतहमा देखिए पनि विशेषगरी सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘इगो’ले पनि काम गरेको छ ।
नेपाल समूहलाई सरकारमा सहभागी गराएर एमाले विभाजन गरेर ओलीसँग बदला लिने प्रचण्डको रणनीतिले मन्त्रिपरिषद्ले पूर्णता पाउन ढिलाइ भएको नेताहरु बताउन थालेका छन् ।
पछिल्लो डेढ वर्ष ओली र प्रचण्डको इगोले मुलुकको राजनीतिलाई अगाडि बढाएको देखिन्छ । माधवकुमार नेपाललाई उचालेर प्रचण्डले ओलीलाई सत्ताच्यूत गरेर देउवा सरकार गठन गरेका हुन् ।
माओवादी र नेपाल समूहको वारिस सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री देउवा अहिले प्रचण्ड र नेता नेपालले भनेअनुसार अघि बढ्नुपर्ने अवस्थामा छन् ।
जसरी पनि नेपाल समूहलाई सरकारमा सहभागी गराउने, नेपाल समूह सरकारमा सहभागी भएपछि ओलीले उनीहरुमाथि कारबाही गर्ने र यसपछि एमाले विभाजन हुने प्रचण्डको आंकलन छ । यसर्थ मंगलबार अध्यक्ष ओली र नेता नेपालबीच वार्ता हुने भनिएसँगै प्रचण्डले नेता नेपाललाई भेटिसकेका छन् ।
यता प्रचण्डसँग लागेर आफूविरुद्ध घात गरेको अनुभव गरेका ओलीले पनि पार्टी एकताका लागि नेपाल समूहलाई स्वीकार्न सकेका छैनन् । ओलीले नस्वीकार्ने र प्रचण्डले सरकारमा सहभागी हुन दबाब दिएपछि नेपाल समूह अलमलमा परेको छ । जसको असर सरकारको नेतृत्व लिएका देउवालाई परेको छ ।
तीन हप्तासम्म सरकारले पूर्णता नपाउनु, आफ्नै सांसद र नेताहरुले सरकार सञ्चालनमा औँला ठड्याउनु, कोरोना संक्रमण नियन्त्रण तथा खोप व्यवस्थापन गर्नुपर्ने जस्ता कार्यले देउवा सरकार सकसमा परेको छ ।
मन्त्रिपरिषद्लाई मात्रै होइन आफ्नै निजी सचिवालयसमेत गठन गर्न नसकेका देउवामा ओली र प्रचण्डको इगोका कारण सत्ताको चक्रब्यूहमा फसेका छन् । इच्छाविपरीत प्रधानमन्त्री बन्न पुगेका देउवा अहिले आफूखुसी निर्णय गर्न नसक्ने अवस्थामा छन् । यसको टड्कारो उदाहरण हो, स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त प्रकरण ।
सरकार समर्थित दलहरुलाई मिलाउनु पर्ने, प्रतिपक्षी दललाई रिजाउनु पर्ने र आफ्नै पार्टीभित्रको विवादलाई साम्य पारेर मुलुक चलाउनुपर्ने र कांग्रेसको महाधिवेशन सम्पन्न गर्नुपर्ने अवस्थामा कांग्रेस सभापतिसमेत रहेका देउवा अहिले ठोस निर्णय गर्न नसक्ने स्थितिबाट गुज्रिएका छन् ।
