हेटौँडा, भदौ ३ गते । मकवानपुरको भीमफेदीस्थित हात्तीसार घरलाई हात्तीसार सङ्ग्रहालयमा रूपान्तरण गर्नेगरी योजना अगाडि बढाइने भएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा सङ्ग्रहालयको स्वरूप र योजना नबनेका कारण बजेट विनियोजन भए पनि हात्तीसार सङ्ग्रहालयको काम अगाडि बढ्न सकेको थिएन ।
भीमफेदी गाउँपालिका–६ मा बेवारिसे अवस्थामा रहेको राणाकालीन हात्तीसार घर बागमती प्रदेश सरकार मातहत आएपछि आर्थिक वर्ष २०७६÷७७ बाट डिभिजन वन कार्यालय मकवानपुरमार्फत मर्मतसम्भार र संरक्षणको काम हुँदै आएको छ ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले हात्तीसार सङ्ग्रहालयलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न हात्तीसार घरले चर्चेको जग्गाको रेखाङ्कन एवं संरक्षण, बगैँचा निर्माण, हात्तीसारमा रहेका सामग्रीको संरक्षण, हात्तीसारको मूल गेटदेखि सङ्ग्रहालय प्रवेशद्वारसम्म ढुङ्गा बिछ्याउने र पैदल मार्ग निर्माणलगायतका कार्य सम्पन्न गरेको छ ।
डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत अच्युत लामिछानेले ऐतिहासिक महŒवको हात्तीसार घरलाई सङ्ग्रहालयमा रूपान्तरण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने कार्यलाई चालू आव २०७८÷७९ मा समेत निरन्तरता दिने योजना रहेको बताउनुभयो ।
उहाँले गत आर्थिक वर्षमा सङ्ग्रहालयको योजना बनाउन समय लागेकाले संरचना बनाउनेलगायतका कार्य अगाडि बढाउन नपाएको बताउँदै चालू आर्थिक वर्षमा सङ्ग्रहालय प्रवेशद्वार र टिकट घर निर्माणसँगै सङ्ग्रहालयको मर्मतसम्भार र रङरोगन गर्ने योजना रहेको सुनाउनुभयो ।
चालू आवमा सङ्ग्रहालय प्रवेशद्वार र टिकट घर निर्माण २० लाख रुपियाँ तथा सङ्ग्रहालयको मर्मतसम्भारका लागि १५ लाख रुपियाँ विनियोजन भएको छ । उहाँले भन्नुभयो, “सङ्ग्रहालय परिसरमा दुईवटा हात्तीसहित बेलायती महारानीको प्रतिमा निर्माण गर्न थप बजेट विनियोजन गरी सम्पन्न गर्ने योजना छ । ”
हात्तीसारमा राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले प्रयोग गरेका राणाकालीन हौदाहरू, बेलायती महारानी नेपाल भ्रमणमा आउँदा प्रयोग गरेकासहित ४२ वटा हौदा छन् ।
साथै हात्तीसार घरभित्र हाल सिकार खेल्न जाँदा घेर्न प्रयोग हुने सेतो कपडा, हात्तीमाथि चढ्न प्रयोग गरिने धानको भुस र परालसहितका जुटका बोरा, एक्युरेमलगायतका सामग्री संरक्षित छन् ।
यसअघि चितवन राष्ट्रिय निकुञ्जमातहत रहेको हात्तीसार सङ्ग्रहालय ३३ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
गतवर्ष मङ्सिर १८ गते मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको संरक्षण र व्यवस्थापनमा रहने गरी बागमती प्रदेश सरकारलाई प्रयोग÷उपयोग गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।
हात्तीसारलाई पर्यटकीय स्थलमा परिणत गर्न नेपाल भ्रमण वर्ष १९९८ को अवसरमा संरक्षण थाले पनि संरक्षणले निरन्तरता नपाउँदा बेवारिसे र जीर्ण अवस्थामा पुगेको थियो ।
