काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी नीजि स्वार्थका कुसंस्कारीको झुण्ड र केही नेताको भजन मण्डली नहुने बताएका छन् ।
बिहिबार बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले सो कुरा बताएका हुन् । आफ्नो आर्थिक सामाजिक रुपान्तरण गर्ने पार्टी हुने बताउदै नेता नेपालले समाजवादको यात्रामा निरन्तर अघि बढ्ने बताए ।
केपी ओलीलाई हटाउनुपर्छ भन्ने सहयोद्धाले नै आफ्नो साथ छाडेको बताउदै नेपालले आफ्नो यसमा कुनै गुनासो नरहेको बताए । उनले भने – ‘लोकतन्त्र जोगाउन केपी ओलीलाई हटाउनुपर्छ भनेर लाग्नुभएका केही सहयोद्धाले मेरो साथ छाड्नुभएको छ, यसप्रति कुनै गुनासो छैन, भोलिको दिनमा फेरि समाहित हुन सक्नुहुन्छ’
ओलीले पार्टीमा भेदभाव गर्दै आफ्नो वरिपरि प्रशंसा गरेर नाच्नेहरूलाई मात्र महत्व दिन थालेको नेता नेपालले बताए । उनले आन्दोलनको रक्षा गर्न र जोगाउनका लागि, जनताका समस्याहरूलाई सम्बोधन गर्नका लागि नयाँ परिस्थिति सिर्जना गर्नु परेको पनि बताए ।
