युथ क्बल नारायणगढले अभिभावकसंग इँटा उद्योगमा रहेका १ हजार २ सय ३८ जना बालबालिकालाई पठन पाठनको व्यवस्था गरेको छ । बेटर ब्रिक नेपाल परियोजना अन्तगर्त क्बले ६ बर्षको अवधिमा चितवन र नवलपुरका इँटा उद्योगमा रहेका बालबालिकालाई पठनपाठनको व्यवस्था गरेको हो ।
क्लबले ६ बर्ष मुनिका बालबालिकालाई उद्योगमा नै कक्षा सञ्चालन गर्दै आएको छ भने, त्यसभन्दा माथिका बालबालिकालाई अध्ययनका लागि आवश्यक पर्ने सम्पुर्ण खर्च दिएर नजिकको विद्यालयमा भर्ना गर्ने गरेको परियोजनाका संयोजक रामचन्द्र आचार्यले जानकारी दिनुभयो । ६ बर्षको अवधिमा ७ सय २५ जना बालबालिकालाई इँटा उद्योगमा बालकक्षा सञ्चालन गरेर अध्ययन गराएको आचार्यले बताउनुभयो । त्यस्तै ५ सय १३ जनालाई विद्यालय भर्ना गरिएको छ । इँटा उद्योगमा कार्यरत मजदुरले आफुसंगै बालबालिकालाई लिएर आउने गर्दछन् । उनीहरुलाई पढाईबाट बञ्चित नगर्नका लागि पठनपाठनको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
बेटर ब्रिक नेपालको परियोजना मार्फत नवलपुर र चितवनमा सात वटा इँटा उद्योग रहेका कामदारका छोराछोरीलाई युथ क्बल नारायगढले पठनपाठनको व्यवस्था गर्दै आएको छ । अहिले परियोजना सुरु भएका इँटा उद्योगमा काम गर्ने बालकालिका पुर्ण रुपमा हटेको क्लबको दावि छ । १४ बर्ष भन्दा मुनिका बालबालिकालाई कुनै पनि काममा लगाउन पाईदैन । इँटा उद्योगको समग्र रुपान्तरणका लागि बेटर ब्रिक नेपाल परियोजनाले यी सात वटा इँटा उद्योगमा काम गरेका ५ हजार ५ सय ८६ कामदारलाई कानुनी परामर्श समेत दिँदै आएको छ । नेपालको कानुन अनुसार उद्योग सञ्चालन गर्न र कामदारले पाउने सेवा सुविधा बारे मजदुरहरु सचेत बनेको आचार्यले बताउनुभयो । तर, अझै पनि उद्योगहरुले कानुनको पुर्ण पालना नगरेको उहाँको भनाई छ ।
कामदारले खाने पानीको परीक्षण, तालिम प्राप्त व्यक्तिले प्राथमिक उपचार सामग्रीको प्रयोग, व्यक्तिगत सुरक्षा तालिम, कामदार कल्याणकारी कोषको स्थापना नगरेको उहाँले बताउनुभयो । श्रमकिले पाउने ज्यालामा भने सुधार आएको उहाँले बताउनुभयो । ग्लोबल फेयरलेस इनिसियटिभको आर्थिक सहयोगमा बेटर ब्रिक नेपाल परियोजना सञ्चालन भएको हो । यसको अवधिमा एक बर्षमात्र रहेको छ । परियोजनाले इँटा उद्योगले पालन गर्नुपर्ने मापदण्ड र मजदुरका हक अधिकारका बिषयमा कानुनी परामर्श दिँदै आएको छ । इँटा उद्योगमा समग्र रुपान्तरणको काम युथ क्लबले गरिरहेको क्लबका अध्यक्ष रामबाबु श्रेष्ठले बताउनुभयो ।
