मृतक भरत गुरुङका हत्या गरेका सैनिक गंगाधर ढकाललाई जन्मकैद सजाय फैसला हुने भएको छ । सैनिक समरी जनरल अदालतले ढकाललाई उक्त सजाय सुनाउने फैसला गरेको हो । नेपाली सेनाको एसएमजी चोरी गरेर उनले चितवन भरतपुर महानगरपालिका १७ मा गएको साउन ७ गते टाउकोमा गोलि हानी हत्या गरेका थिए ।
सैनिक जनसम्पर्क निर्देशनालयबाट जारी विज्ञप्तिअनुसार गत साउन ७ गते चितवनको भरतपुर महानगरपालिका–१७ शारदानगरस्थित सिमलडाँडामा नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या गर्ने ढकाललाई जिल्ला अदालत चितवनको आदेशअनुसार तथा सेनाबाट गरिएको कोर्ट अफ इन्क्वायरीको प्रतिवेदनको आधारमा हत्यासम्बन्धी कसुरमा दोषी ठहर गरिएको हो ।
ढकालले चितवनको कालीबहादुर गणमा १००७९२ नम्बरको सर्ट मेसिन गन (एसएमजी) चोरी गरेका थिए। सोही गन प्रयोग गरी साउन ७ गते उनले आफ्नै सहकर्मी गुरुङको हत्या गरेका थिए ।यी दुवै अपराध स्वीकार गरेका उनलाई गणमा नै गठन भएको सैनिक समरी जनरल अदालतले जन्मकैदको फैसला सुनाएको हो ।
ढकालबाट बरामद हतियार चोरीको अभियोगमा दुई सैनिक जवान लभकुमार गुरुङ र सरोज तामाङले बिनाकसुर जेल सजाय काटिरहेका छन् । गुरुङलाई जन्मकैदको फैसला भएसँगै गुरुङ र तामाङको विषयमा पनि सैनिक विशेष अदालतले शुक्रबार आदेश गर्ने भएको छ ।
