काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष फतिमा सुमार र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
शुक्रबार फतिमा नेतृत्वको प्रतिनिधिमण्डल र प्रचण्डबीच खुमलटारमा भेटवार्ता भएको हो । उनीहरुबीच एमसीसीबारे बुराकानी भएको छ ।
भेटमा प्रचण्डले एमसीसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने बताए । उनले देशको अग्रगमनको संवाहक वर्तमान गठबन्धनलाई बलियो बनाउनु प्रमुख प्राथमिकता रहेको पनि बताएका छन् ।
फतिमाले आफू नेपाल कुनै दबाबका लागि नभई एमसीसीबारे स्थिति बुझ्न आएको बताइन् । यसबारे राजनीतिक दलहरूले नै निर्णय गर्ने बताउदै सकारात्मक निर्णय हुनेमा आफू आशावादी रहेको फतिमाले बताएकी छिन् ।
बिहिबार नै फतिमा नेतृत्वको प्रतिनिधिमण्डलले एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलाई पनि भेट गरेको थियो ।
