काठमाडौँ । एमालेको विधान महाधिवेशन सरेको छ । असोजको ४, ५ र ६ गते हुने भनिएको विधान महाधिवेशन असोज १५, १६ र १७ गतेका लागि सरेको हो ।
एमाले प्रचारप्रसार विभाग प्रमुख योगेश भट्टराईले समय अभावका कारण विधान महाधिवेशन सारिएको बताए । विधान महाधिवेशनमा पार्टीका विभिन्न कमिटी तथा निकायबाट करिब ३ हजार प्रतिनिधिले भाग लिने भट्टराईको भनाइ छ ।
उनका अनुसार त्यसका लागि असोज ३ र ४ गते स्थायी समिति बैठक बस्नेछ । उक्त बैठकमा विधान मस्यौदा, राजनीति र सांगठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । स्थायी कमिटीको बैठकबाट आएका सुझावलाई समेटेर असोज ८ र ९ गतेको केन्द्रीय कमिटी बैठकमा तीनवटा प्रतिवेदन पेस गरिने भट्टराईले बताए ।
उक्त प्रतिवेदन केन्द्रीय कमिटीबाट पारित गरेर विधान महाधिवेशनमा लगिने उनको भनाइ छ। यस्तै एमालेले संसद अवरुद्धको रणनीतिलाई केही परिमार्जन गरि यथावत राख्ने स्थायी कमिटीले निर्णय गरेको छ ।
