ओखलढुंगाकी ८२ वर्षिया समाजसेवी प्रेम कुमारी श्रेष्ठले आफ्नो वृद्धभत्ता बापत आएको रकमबाट जन्मथलोमा ई-लाइब्रेरी स्थापना गरेकी छन्।
होम बहादुर प्रेम कुमारी ट्रष्टका संस्थापकसमेत रहेकी श्रेष्ठले आफ्नो वृद्धभत्ता बापत आएको रकम जम्मा गरेर त्यसबाट आफ्नो जन्मथलो सोलुखुम्बुको जनजागृति उच्च माध्यमिक विद्यालयमा इ-लाइब्रेरी स्थापना गरेकी हुन्।
सोलुखुम्बुको दोर्पु बजारमा जन्मिएकी उनले असोज ५ गते एक समारोहबीच स्कुललाई उक्त लाइब्रेरी उनका कान्छो छोरा केन्द्र श्रेष्ठले विद्यालयका प्रधानाध्याक मान बहादुर कार्की र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेम राईलाई हस्तान्तरण गरे।
कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राईले सोलुमै जन्मिएकी महान हृदयका दाताको तर्फबाट स्थापित ई-लाइब्रेरीले यहाँका विद्यार्थीको पठन पाठनमा ठूलो फरक पार्ने बताए।
त्यसैगरी विद्यालयका प्रधानाध्यापक मानबहादुर कार्कीले विद्यालयमा रहेको २४ वटा कम्प्युटरमार्फत विद्यार्थीले अध्यावधिक गरिएको डिजिटल लाइब्रेरीको उपयोगबाट आफ्नो ज्ञान वृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा सोलु एफएम सञ्चालक समितिका अध्यक्ष बुद्धि नारायण श्रेष्ठको पनि उपस्थिति थियो।
विद्यालयमा ई-लाइब्रेरी स्थापनाका लागि समाजसेवी रविन्द्र श्रेष्ठ र नेपाल पत्रकार महासंघ, जिल्ला शाखा सोलुखुम्बुका अध्यक्ष नुतन श्रेष्ठले सहजकर्ताको भूमिका निभाएका थिए।
दाता होम बहादुर श्रेष्ठ र प्रेम कुमारी श्रेष्ठ दम्पतिका छोरा-बुहारी र छोरी-ज्वाईले बुवा -आमाको नाममा बिभिन्न सामाजिक कार्य गर्ने गरेका छन्।
यसै क्रममा गत वर्ष कोरोना महामारीले लकडाउन भएपछि कामको अभावमा खाना नपाएर भोकभोकै परेका परिवारलाई खाद्य सामाग्री वितरण समेत गरेका थिए।
यस्तै स्थानीय क्याम्पस र विद्यालयमा गरिव विद्यार्थीलाई पढ्न मद्दत पुगोस् भनेर अक्षय कोषकोसमेत स्थापना गरेका छन्।
नेपाल लाइब्रेरी फाउन्डेसनका महासचिव धन कुमार श्रेष्ठका अनुसार दाता होम बहादुर श्रेष्ठ तथा प्रेम कुमारी श्रेष्ठका परिवारले आफ्नै परिवारको मात्रै लगानीमा यसअघि ओखलढुंगाको सदरमुकाममा रहेको सगरमाथा जनता उच्च मावीमा ४ वर्ष अगाडि नै इ-लाइब्रेरी स्थापना गरिसकेका छन्।
जुन प्रदेस १ कै दोस्रो ई-लाइब्रेरी हो। नेपाल लाइब्रेरी फाउन्डेसनको युरोप कोअर्डीनेटरको रूपमा दाता श्रेष्ठ दम्पतिका छोरा शिवजी श्रेष्ठले बिभिन्न जिल्लामा ७ वटा ई-लाइब्रेरी स्थापनाको लागि संयोजनकारी भूमिका निभाएका थिए।
