काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता, शक्ति र पदको लोभमा अरु केहि नदेखेको बताएका छन् । सोमबार चितवनमा नेपाली कांग्रेस भरतपुर नगरसमितिले आयोजना गरेको विजया दशमी तथा तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पौडेलले सो कुरा बताएका हुन् ।
उनले सत्ता र शक्तिको लोभमा देउवाले पार्टीलाई यो हालतमा पुर्याएको आरोप लगाए। उनले भने – ‘सत्ता र पदभन्दा अरु केही पनि नदेख्ने । जे मन लाग्यो त्यही गरेर आज पार्टीलाई यो हालतमा पुर्याइएको छ ।’ उनले देउवाले आफ्नै निर्णय पटकपटक फिर्ता लिएर तमासा देखाएको पनि बताए ।
उनले भने – ‘निर्णय गरेर फिर्ता लिने कुन तमासा हो ? कांग्रेसको इज्जत कहाँ पुगेको छ ? प्रतिष्ठा कहाँ पुगेको छ ? कांग्रेसको इज्जत र प्रतिष्ठामा खेलवाड गर्न के सभापतिलाई अधिकार छ ?’ पौडेलले देउवाले केपी ओलीकै शैलीमा पार्टी फुटाउने अध्यादेश फिर्ता लिएको र प्रधानन्यायाधीसको कोटामा नियुक्त मन्त्रीको नियुक्ति फिर्ता लिएको पनि बताए ।
आज निर्णय गरेर भोलि फिर्ता गर्नुपर्ने कांग्रेस आफुले नचाहेको बताउदै पौडेलले कांग्रेसले आफ्ना कार्यकर्तालाई हँसिय हथौडा र सूर्यमा भोट हाल भनेर भन्न नपरोस् भन्ने आफुले चाहेको बताए ।
