काठमाडौं देशकै राजधानी भएकाले प्रायः सबै नेपालीको आकर्षणको केन्द्र हुने नै भयो । शिक्षा, स्वास्थ्य, व्यापार, रोजगारलगायतको अवसर पनि देशभरिमै सबैभन्दा बढी यसै सहरमा छ । भौतिक पूर्वाधार, सुखसुविधा पनि अन्यत्र भन्दा राजधानी सहरमै बढी हुने विश्वास आम मानिसको हुन्छ । त्यसैले राजधानीमा घरजग्गा जोड्ने चाहना कसलाई पो नहोला र ? तर सबैको चाहना पूरा हुँदैन । किनभने काठमाडौंमा घरजग्गाको भाउ निकै अकासिएको छ । त्यसमाथि पनि काठमाडौं महानगरपालिकाभित्रको जग्गाको भाउ छोइनसक्नुको छ ।
यहाँ काठमाडौं महानगरपालिकाभित्र जग्गाको मूल्य सबैभन्दा धेरै भएका क्षेत्रहरुबारे जानकारी दिइएको छ । यसका लागि काठमाडौं महानगरपालिकाले सम्पत्ति कर प्रयोजनका लागि निर्धारण गरेको जग्गाको मूल्यलाई आधार बनाइएको छ । महानगरपालिकाले स्थानीय राजपत्रमार्फत जग्गाको मूल्यांकन सार्वजनिक गरेको हो ।
हुन त सरकारी निकायले निर्धारण गरेको मूल्यभन्दा तीनचार गुणासम्म बढी मूल्यमा जग्गाको खरिदबिक्री हुँदै आएको छ । तै पनि सरकारी मूल्यांकनले कुन क्षेत्रको जग्गा बढी मूल्यवान् रहेछ भन्ने थाहा पाउन हामीलाई सहयोग गर्छ ।
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने जग्गाको मूल्यांकन गर्दा न्यूनतम रु. चार लाख देखि अधिकतम ५० लाख प्रतिआनासम्म मूल्य कायम गरेको छ । काठमाडौं महानगरभित्र प्रतिआना ५० लाख रुपैयाँ मूल्यांकन गरिएका जग्गा कुनकुन क्षेत्रमा रहेछन्, हेरौं है त ।
महानगरपालिकाले व्यापारिक दृष्टिले अति नै व्यस्त क्षेत्रका जग्गाको सबैभन्दा बढी अर्थात् आनाको रु. ५० लाख मूल्य तोेकेको छ । यी जग्गाहरु काठमाडौंको केन्द्र मानिएका सिंहदरबार, रत्नपार्क, सहिदगेट, सुन्धारा, टुँडिखेलवरिपरि, जमल, असनलगायतको क्षेत्रमा पर्छन् । घना आवादी रहेका यी क्षेत्रमा खाली जग्गा पाउन भने निकै कठिन छ ।
महानगरपालिकाले हनुमानढोका पूर्व नयाँसडक, पुरानो महानगरपालिका भवनको दक्षिण चोकबाट जुद्धशमशेर सालिक हुँदै इन्द्रचोकसम्म, न्युरोड पीपलबोटदेखि दक्षिण आरबी कम्प्लेक्स चोक पश्चिम पुरानो महानगरपालिका भवन चोकसम्म, न्युरोड खिचापोखरी, धरहरासम्मको मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य प्रतिआना ५० लाख रुपैयाँ तोकेको छ ।
त्यस्तै केशरमहल प्रवेशद्वारदेखि पश्चिम ठमेल मूलचोक हुँदै क्षेत्रपाटी चोकसम्मको मूलबाटोमा जोडिएका जग्गाहरू, हनुमान ढोका, जिल्ला प्रहरी कार्यालय पूर्व सुरज आर्केड, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल राष्ट्रिय नाचघरसम्म र सोदेखि पूर्व विश्वज्योति हल हुँदै तीनधारा पाठशालासम्म मूलबाटोसँग जोडिएका, महेन्द्र सालिकदेखि काठमाडौँ प्लाजासम्म मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको जग्गाको मूल्य पनि प्रतिआना रु. ५० लाख तोकिएको छ ।
यसैगरी माइतीघर, सिंहदरबार पश्चिमगेट, पुतलीसडक, कृष्ण पाउरोटी, हात्तीसार, जयनेपाल, कान्तिपथ जमल, दरबार मार्ग र घण्टाघरदेखि कमलादी मोडसम्मका मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य पनि प्रतिआना रु. ५० लाख निर्धारण गरिएको छ ।
महानगरपालिकाले जमल, रानीपोखरी, वीर अस्पताल, नेपाल वायुसेवा निगम, गोश्वारा हुलाक, त्रिपुरेश्वरसम्मको मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गाहरू, रत्नपार्क, पुरानो बसपार्क, सहिदगेट हुँदै सुन्धारा चोकसम्म, सिंहदरबार पश्चिम गेट हुँदै भद्रकालीसम्मका मूलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य पनि आनको ५० लाख रुपैयाँ तोकेको छ । यी जग्गा देशभरिमै सबैभन्दा बढी मूल्य पर्ने जग्गा हुन् भन्दा पनि फरक पर्दैन ।
