साताको दोस्रो दिन सोमबार सेयर बजारमा उछाल देखिएको छ । आइतबार नै बढ्ने संकेत गरेको बजारमा लगानीकर्ता आक्रामक हुँदा नेप्से परिसूचक ८७.६३ विन्दुले उकालो लागेको छ । आइतबार पनि बजार झन्डै २८ विन्दुले बढेको थियो ।
नेपाल राष्ट्रबैंकले ४-१२ करोडको सीमा हटाउने र हाल कायम सिडी रेसियोमा संशोधन गर्न सक्ने समाचार सार्वजनिक भएपछि त्यसले बजारमा सकारात्मक प्रभाव पारेका हो । जसका कारण नेप्से ३.३९ प्रतिशतले बढेर २६७२.२५ मा पुगेको छ । यस्तै क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.७७ प्रतिशतले बढेर ५०४.५८ मा पुगेको छ ।
यस दिन कारोबार भएका सबै १३ वटै समूहको सूचकमा हरियो रङ पोतिएको छ । सबैभन्दा बढी उकालो लाग्नेमा वित्त समूह देखिएको छ । यो समूहको सूचक ७.८१ प्रतिशतले बढेको छ । त्यस्तै हाइड्रोपावर समूहको सूचक पनि सात प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।
बढ्दो बजारलाई यस दिन कारोबार रकमले पनि साथ दिएको देखिएको छ । सोमबार ५३ हजार ७९२ कारोबारबाट ८३ लाख ९५ हजार ८६४ कित्ता सेयर चार अर्ब ३० करोड ८८ लाख ९५ हजार ५७५ रुपैयाँमा किनबेच भएका छन् । आइतबार ३८ हजार १४७ कारोबारबाट ५८ लाख १८ हजार २५ कित्ता सेयर २ अर्ब ७७ करोड ३४ लाख २० हजार १३५ रुपैयाँको सेयर किनबेच भएका थिए ।
यस दिन कारोबार भएका २२९ वटा स्क्रिप्टमध्ये २११ वटाको भाउ बढेको छ भने जम्मा १० वटा स्क्रिप्टको मात्रै भाउ घटेको छ । सातवटाको क्लोजिङ मूल्यमा कुनै परिवर्तन भएन । बजार तीव्र गतिमा बढ्दा यस दिन दुई दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । तीमध्ये अधिकांश जलविद्युत् कम्पनी र केही फाइनान्स तथा विकास बैंक छन् । यस दिन सबैभन्दा बढी गुमाउनेमा सांग्रिला डिबेन्चर बन्डका लगानीकर्ता परेका छन् । यो स्क्रिप्टको मूल्य चार प्रतिशतले घटेको छ ।
