काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट भएको सकारात्मक कामको गुन तिर्ने बताएका छन् ।
शुक्रबार पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले सो कुरा गरेका हुन् । उनले संसद् पुनःस्थापनका लागि न्यायपालिकाले सकारात्मक काम गरेको बताए ।
उनले भने – “यो तपाईंहरुले थाहा पाइराखेकै कुरा हो नि १ संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको छ । त्यो बिर्सेका छैनौँ । अहिले न्यायपालिकालाई समस्या पर्दा त्यसलाई सहयोग गर्छौँ ।”
उनले थपे – “हामीले सहयोग हिजो पनि गरिहाल्यौँ नि ! गठबन्धनको बैठक बसेर प्रधानन्यायाधीश अस्पतालमा बसेको समयमा कम्तीमा पनि बिदा बसेर कार्यवाहक तोक्नु राम्रो हुन्छ भनेर भनियो । त्यो पनि सहयोग नै गरेको हो ।”
प्रधानन्यायाधीश डिस्चार्ज भएर आएको भन्दै उनले अब फेरि सत्ताधारी गठबन्धन दल बसेर सल्लाह गर्ने बताए । यस्तै उनले सरकारले मंसिर २८ गतेका लागि आह्वान गरेको संसद् बैठकले आफ्ना नियमित कामलाई अघि बढाउने बताए ।
