लण्डन । गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले भ्रमको खेती गरेर डेलिगेट्स चयनमा संस्थालाई अनिर्णयको बन्दी बनाइएको आरोप लगाएका छन् । संघको रोकिएको महाधिवेशन र चुनावका विषयमा बोल्दै आचार्यले आफूहरूमा भएको कमीकमजोरी सबैले सुधार्न आवश्यक रहेको बताए ।
‘जुनजुन देशहरूबाट डेलिगेट्स समस्या भएको छ । निवेदन दिनुभएको छ तिनको सम्बोधन गर्नुस् । विधि विधानबाट डेलिगेट्स चयन होस् । त्यसो भयो भने हामी भोलि चुनावमा जान्छौं,’ उनले भने, ‘विभिन्न यो वा त्यो बहानामा डेलिगेट्स थपघट गर्ने काम बन्द गरेर सुधारेर अघि बढ्नुस् । हाम्रो तर्फबाट केही पनि रोकेका छैनौं । सहमति, वार्ताका लागि तयार छौं । सबैलाई सम्हालेर नेपाल सरकारसँग सुमधुर सम्बन्ध बनाएर अघि बढ्न चाहन्छौं ।’ भ्रमका कुरा धेरै नफैलाउन उनले आग्रहसमेत गरे ।
विमानस्थलमा गैर आवासीय नेपालीहरूका लागि एनआरएन डेस्क व्यवस्थित गर्ने, दोहोरो नागरिकता कार्यान्वयन गर्ने सवालमा पनि नयाँ वर्षमा प्रगति होस् भन्ने उनले कामना गरे।
