चितवन । राष्ट्रिय महिला लिग फुटबलको पहिलो चरणका खेलहरु सकिएको छ। आज (बुधबार) दुई खेल सकिएसँगै पहिलो चरण सकिएको हो । अन्तिम दिनको खेलमा आज वालिङ र ललितपुरले बराबरी खेल्दा सशस्त्र प्रहरी बल (एपिएफ) एफसीले विराटनगरलाई पराजित गर्यो ।यससँगै एपिएफले तालिकाको शिर्ष स्थानमा रहँदै लिगको पहिलो चरण सकाएको छ । आजको पहिलो खेलमा एपिएफले विराटनगरलाई २-१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै एपिएफ लिगको पहिलो चरणमा शतप्रतिशत जित निकाल्ने एक मात्र टिम बनेको छ ।
एपिएफ पहिलो चरणको सबै सातै खेलमा विजयी भयो । शिर्ष स्थानमा रहेको एपिएफको ७ खेलबाट २१ अंक छ । प्रतिस्पर्धात्मक खेलमा एपिएफलाई गोल गर्न ६५ औं मिनेटसम्म कुर्नु पर्यो । ६५ औं मिनेटमा राइट विङबाट सुष्मा तामाङले दिएको क्रसमा सावित्रा भण्डारी साम्बाले सुन्दर हेडर गोल गर्दै एपिएफलाई अग्रता दिलाईन् । ७६ औं मिनेटमा एपिएफले सुष्माकै एसिस्टमा दोस्रो गोल गर्यो । राइट विङबाट सुष्माको क्रसमा सरु लिम्बुले हेडर गोल गर्दै एपिएफलाई दोहोरो अग्रता दिलाईन् ।
वालिङकी हिमा प्लेयर अफ दि म्याच भईन् । बराबरीपछि ललितपुरले ७ खेलबाट ४ अंकका साथ तालिकाको सातौं स्थानमा रहँदै लिगको पहिलो चरण टुङ्गाएको छ। उता वालिङले भने पहिलो चरणको अन्तिम खेलमा आएर तालिकामा एक अंक जोडेको छ । तालिकाको पुछारमा रहेको वालिङ यसअघि पहिलो चरणका ६ खेलमा पराजित भएको थियो । लिगको पहिलो चरणका खेलहरु भरतपुरमा भएको हो । दोस्रो चरण विराटनगरमा हुनेछ । राष्ट्रिय महिला लिग पहिलो पटक उपत्यका बाहिर भएको हो ।
यस्तो छ अंक तालिका राष्ट्रिय महिला लिगको पहिलो चरण सकिँदा एपिएफ शिर्ष स्थानमा छ । एपिएफको सात खेलबाट २१ अंक छ । १५ अंक रहेको आर्मी दोस्रो स्थानमा छ भने समान अंक रहेको पुलिस गोलआधारमा चौथो स्थानमा छ ।
१२ अंकसहित धनगढी चौथो स्थानमा रहँदा १० अंक जोडेको विराटनगर पाँचौ तथा ४ अंक रहेको चन्द्रपुर छैटौं स्थानमा छ । समान ४ अंक रहेको ललितपुर गोल आधारमा पछि पर्दै सातौं र एक अंक मात्रै जोडेको वालिङ पुछारमा छ ।
