चितवन । भरतपुर महानगरपालिकाका सहरी क्षेत्रमा ढल निकासको समस्या देखिएपछि खानेपानी तथा ढल व्यवस्थापन विभागले रु दुई अर्बभन्दा बढीको लगानीमा ढल निर्माणको काम गर्ने भएको छ । यससँगै खानेपानी व्यवस्थापन र शौचालयबाट निस्केको फोहर व्यवस्थापन तथा ढल व्यवस्थापनको काम गर्न लागिएको हो ।
विभागको एकीकृत खानेपानी तथा सरसफाइ आयोजनाले कामका लागि विस्तृत अध्ययन प्रतिवेदनको काम गरिरहेको छ । देशका १२ सहरमा ढल व्यवस्थापनको काम गर्ने तयारी छ । तीमध्ये पाँच सहरलाई पहिलो चरणमा राखिएको छ । तीमध्ये पनि भरतपुर महानगरपालिकाको कामलाई तीव्ररूपमा अघि बढाइएको विभागको आयोजनाका निर्देशक रत्नप्रसाद लामिछानेले जानकारी दिए ।
उनका अनुसार आउँदो असारसम्ममा विस्तृत अध्ययन प्रतिवेदनको काम सम्पन्न गरी बोलपत्र आह्वान गर्ने लक्ष्य राखिएको छ । उनले भने, “हामी आगामी असारसम्ममा बोलपत्र आह्वान गर्ने गरी काम अघि बढाएका छौँ । ढिलो भए पनि आउँदो वर्षको यतिबेलासम्म बोलपत्र भइसक्छ ।” दुईदेखि तीन वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
खानेपानी नपुगेका ठाउँमा पानी पु¥याइने छ भने भइरहेका ठाउँमा स्तरोन्नति गरिने छ । एसियाली विकास बैंकको आर्थिक सहयोगमा काम गर्न लागिएको हो । उनका अनुसार प्रमुख सहरहरूमा रु एक अर्ब ५० करोडदेखि दुई अर्बसम्मको योजना तय गरिएको भए पनि भरतपुरका मुख्य सहरी क्षेत्रमा धेरै काम गर्नुपर्ने भएकाले रु दुई अर्बभन्दा बढीको योजना बन्ने अनुमान गरिएको छ ।
