काठमाडौ । देशभर अधिकांश क्षेत्रमा सत्ता गठबन्धनविरूद्ध विपक्षी गठबन्धनका उम्मेदवार छन् । तर काठमाडौंकै दुई वटा निर्वाचन क्षेत्रमा भने कुनै पनि गठबन्धन छैनन् । प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै एक्ला–एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सत्तारुढ दलहरू कांग्रेस र माओवादी केन्द्रबीच प्रतिनिधिसभाका १६३ सिटमा गठबन्धन भए पनि काठमाडौं–३ र १० भने चुनावी तालमेल भएको छैन ।
गठबन्धन गरेकै कारण कांग्रेसले ९१, माओवादी केन्द्रले ४६, एकीकृत समाजवादीले २१ र राष्ट्रिय जनमोर्चाले २ सिटमा मात्रै उम्मेदवारी दिएका छन् । तर, काठमाडौं–३ र १० मा भने कांग्रेस र माओवादी केन्द्रले केन्द्रमा भएको गठबन्धनको निर्णय स्वीकारेनन् । गठबन्धनमा दुवै क्षेत्रमा प्रतिनिधिसभातर्फ कांग्रेसले उम्मेदवारी दिने र प्रदेशसभामा एक–एक क्षेत्रमा माओवादी केन्द्रले उम्मेदवारी दिने सहमति थियो । तर, कांग्रेसले गठबन्धनमा भएको सहमतिविपरीत प्रतिनिधिसभा तथा प्रदेशसभाका सबै क्षेत्रमा एकल उम्मेदवारी दिएपछि आफूहरूले पनि उम्मेदवारी दिएको माओवादी केन्द्रका काठमाडौं इन्चार्ज कुमार पौडेलले बताए ।
‘केन्द्रमा गठबन्धन गर्ने नै सहमति थियो । तर, केन्द्रको गठबन्धन गर्ने निर्णय कांग्रेसको स्थानीय नेतृत्वले स्वीकारेन,’ पौडेलले भने, ‘त्यही कारण हामीले गठबन्धन गरेनौँ, आफ्नै उम्मेदवार उठायौँ ।’ काठमाडौं क्षेत्र नं. १० मा त्रिपक्षीय भीडन्त छ, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको । यहाँ कांग्रेसले राजन केसी (६४), एमालेले हिमेश केसी (३९) र माओवादी केन्द्रले अञ्जना बिशंखे (४८) लाई उम्मेदवार बनाएका छन् ।
मुख्य प्रतिस्पर्धा यी नै उम्मेदवारहरूबीच हुन सक्ने देखिन्छ । तर, यहाँबाट प्रतिनिधिसभा सदस्यका लागि १५ राजनीतिक दल र तीन जना स्वतन्त्र उम्मेदवार गरी १८ जनाको उम्मेदवारी छ । क्षेत्र नं. १० मा जस्तै त्रिपक्षीय भीडन्त हुन सक्ने देखिन्छ काठमाडौं–३ मा पनि । तर, यहाँ पनि अन्य दल र स्वतन्त्र उम्मेदवारसमेत छन् । यहाँ नेकपा एमालेका कृष्णबहादुर राई (५३), नेपाली कांग्रेसका सन्तोष चालिसे (६४) र नेकपा माओवादी केन्द्रका बद्रीप्रसाद बजगाईं (४८)लाई उम्मेदवार बनाएका छन् ।
