चितवन । भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा सत्तारुढ दल निकटका विद्यार्थी संगठनले तोडफोड गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया जारी रहेका बेला सत्ता गठबन्धन दलका विद्यार्थी संगठनका नेताहरुले क्याम्पसमा तोडफोड गरेका हुन् ।
क्याम्पसको टेबल, कुर्ची लगायत महत्वपूर्ण कागजपत्रमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले क्याम्पसमा विद्यार्थी संगठनले लगाएका ताला मंगलबार सुरक्षाकर्मी लगाएर खोलेको थियो ।
क्याम्पसका कर्मचारीले मतदाता विद्यार्थीहरुको विवरण आफु निकटका विद्यार्थी संगठनलाई उपलब्ध गराएपछि तोडफोडको घटना भएको माओवादी केन्द्र निकटको अखिल (क्रान्तिकारी)का सप्तगण्डकी सचिव विकास ढकालले बताए । ‘मतदाताको अन्तिम नामावली प्रकाशन भएकै छैन । निर्वाचन प्रक्रिया अघि बढेको छैन । नियमविपरित विद्यार्थीको व्यक्तिगत डाटा बाहिर दिएपछि हामी जवाफ माग्न गएका थियौँ । त्यसक्रममा विद्यार्थीको जमात तोडफोडमा उत्रिएको हो’, उनले भने ।
माओवादी केन्द्र निकटको अखिल (क्रान्तिकारी, विप्लव निकटको अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी बहुमत, नेविसंघ, अनेरास्ववियु समाजवादी लगायतका विद्यार्थी संगठनले स्ववियु निर्वाचनमा गठबन्धन गरेका छन् ।
