त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफूलाई कुटपिट गर्नेहरुमाथि जिल्ला अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने निर्णय विरुद्ध दायर गरेको रिट न्यायाधीश मनोजकुमार शर्माको इजलासमा पेसी तोकिएको छ।
समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि २० असोज २०७७ मा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा नै सांघातिक आक्रमण भएको थियो।
त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यको समूहले चलाउनेमाथि आक्रमण गरेको थियो। आचार्यसहित ५ जनाविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन रहेको अवस्थामा जेठ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले चलाउनेमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो।
काठमाडौं जिल्ला अदालतमा मुद्दा बिचाराधीन रहेकै अवस्थामा सत्ताको दुरुपयोग गर्दै सरकारले मुद्दा फिर्ता लिएको भन्दै चलाउने सर्वोच्च पुगेका हुन्।
बिहीबार सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा फिर्ता लिने सरकारको निर्णय रोकिनेछ।
