विगत ३ दिन भरतपुरको अस्थायी शव व्यवस्थापन केन्द्रमा देखेको र भोगेको अनुभव भरतपुरमा विगत तीन दिन शव व्यवस्थापन केन्द्रमा बसेर शब ब्यवस्थापनमा स्वयंसेवकको रुपमा खटिदा गर्दा जे देखेँ र भोगेँ, त्यो जीवनभर बिर्सन सक्दिनँ। बाहिरबाट हेर्दा अवस्था जति सामान्य देखिए पनि त्यहाँको वास्तविक परिस्थिति निकै कठिन र पीडादायी थियो।
साना देखि साना चिज जुटाउनु पर्ने ,साथीभाई गुहार गर्नुपर्ने अबस्था थियो ,MRR चितवन टिम , जेन्जी साथीहरू ,केही लियो क्लबका साथीहरू ,अन्य संस्थाका सहयोगी साथीहरू लगायत सुरक्षाका सम्पुर्ण टोलि , एम्बुलेन्स चालक संघ को साथ सहयोग भरपुर थियो ।
स्रोतका अभावमा गर्न सकिने कुरा पनि समाधान गर्न सकिएको थिएन ।बाढीले धेरै टाढाबाट बगाएर ल्याएका शवहरू नारायणी आसपास ८–१० घण्टापछि भेटिन थाले। धेरै शवको अवस्था यति बिग्रिएको थियो कि अनुहारबाट पहिचान गर्नसमेत सम्भव थिएन।
छाला निस्किएको, मुख–आँखा सुन्निएको र महिला–पुरुष छुट्याउनसमेत कठिन हुने अवस्था थियो। मैले ४०/५० भन्दा बढी शव प्रत्यक्ष देखेँ होला, तर स्पष्ट रूपमा अनुहारबाट चिन्न सकिने शव १०-१२% थिए ।
पहिचान हुन नसकेका शव व्यवस्थापन गर्नु झन् ठूलो चुनौती थियो। गर्मीको समयमा पर्याप्त चिस्यान र सुरक्षित शव राख्ने स्थानको अभाव थियो। सामान्य सुक्खा हिउँसमेत सहजै उपलब्ध नहुने अवस्था आयो। तत्कालीन परिस्थितिमा अस्थायी रूपमा तापक्रम सन्तुलन हुने कोठा बनाइयो, तर त्यसको क्षमता सीमित थियो।
एकपछि अर्को शव आउँदा अब कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता निरन्तर रह्यो। चिस्यान नियन्त्रणको कामको जिम्मेवारी प्रतीक पन्त दाईले लिनुभएको थियो ,उहाको अनुभव मेरो भन्दा अझै १० गुना बढी छ ।
सबैभन्दा पीडादायी अवस्था आफन्तहरूको थियो। आफ्नै मान्छेको अवस्था देखेर धेरैजना सम्हालिन सक्नुहुन्नथ्यो। कतिपयले त आँसु झार्दै भन्नुभयो “हामी यस्तो अवस्थामा सम्हाल्न सक्दैनौँ, बरु तपाईंहरू नै अन्त्येष्टि गरिदिनुस्।”
तर अर्कोतर्फ, धेरै शव खोज्न आफन्तहरू नै नआएको अवस्था पनि देखियो। आफ्नै मान्छेको शव लिनसमेत कोही नआउँदा मन निकै भारी हुन्थ्यो ।
केही फोटोबाट पहिचान भएका शबहरु पनि नचिनिने अबस्थामा पुगेको थियो ।यस्तो अवस्थामा जनताको गुनासो हुनु स्वाभाविक हो। सरकार अभिभावक हो, त्यसैले नागरिकले सरकारसँग प्रश्न गर्न पाउनुपर्छ।
शव व्यवस्थापनदेखि पहिचान, सूचना प्रवाह, परिवारसँगको समन्वय र सुरक्षित संरक्षणसम्म जहाँ कमजोरी भयो, त्यसको समीक्षा हुनैपर्छ। आगामी दिनमा यस्ता विपद्का लागि अझ व्यवस्थित तयारी आवश्यक छ।
तर त्यहाँ बसेर काम गर्ने कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक र अन्य सहयोगीहरूलाई पनि बुझ्न जरुरी छ। उनीहरू पनि यही समाजका मानिस हुन्। उनीहरूले उपलब्ध स्रोत–साधन र समयको सीमाभित्र रहेर सक्दो प्रयास गरिरहेका थिए। त्यो बेला दोषारोपणभन्दा तत्काल समाधान खोज्नु नै प्राथमिकता थियो।
यस घटनाले एउटा महत्वपूर्ण पाठ सिकाएको छ । देशभर कम्तीमा ४–५ वटा ठूला आपत्कालीन शव व्यवस्थापन केन्द्र पूर्वतयारी अवस्थामा राख्न आवश्यक छ। एकैपटक १००–२०० वा त्यसभन्दा बढी शव सुरक्षित राख्न सक्ने पूर्वाधार, आवश्यक उपकरण, चिस्यान प्रणाली, पहिचान प्रविधि र दक्ष जनशक्ति तयार हुनुपर्छ।
आवश्यक पर्दा नेपाली सेनालगायतका निकायका होल्डिङ सेन्टरहरूलाई पनि यस्तो व्यवस्थापनमा प्रयोग गर्न सकिने व्यवस्था बनाउनुपर्छ।
सरकारलाई प्रश्न गरौँ, कमजोरी औँल्याऔँ, सचेत गराऔँ र आवश्यक सुधारका लागि निरन्तर घच्घच्याऔँ। तर संकटको समयमा एकअर्कालाई दोष दिएर मात्र समस्या समाधान हुँदैन।
यस्ता विपद्मा सरकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, नागरिक समाज र आम नागरिक सबै मिलेर अघि बढ्नुपर्छ।
यी तीन दिनले मलाई धेरै कुरा सिकायो। केही दृश्य र अनुभव शब्दमा लेखेर मात्र व्यक्त गर्न सकिँदैन।
यस्तो भयावह अवस्था फेरि कहिल्यै देख्न र भोग्न नपरोस्।
दिवंगत हुनुभएका सबैप्रति हार्दिक श्रद्धाञ्जली ।
