चितवन । भरतपुर महानगरपालिका–९ बसन्तचोकमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी हुँदा कारभित्र रहेका एक पुरुषको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार २०८३ भदौ २६ गते बिहान करिब ६ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत बसन्तचोकस्थित सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगलागी भएको हो।
कारमा आगलागी भएको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र एक जना पुरुष जलेको अवस्थामा मृत फेला परेका हुन्।
आगलागीबाट कारमा समेत ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ। मृतकको हालसम्म नाम, थर र ठेगाना खुल्न सकेको छैन।
घटनाको कारण खुल्न नसकेको र मृतकको पहिचानसँगै आगलागीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
