पर्सा । पर्सामा प्रहरीले ३० किलो लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले सोमबार राति पटेर्वासुगौली गाउँपालिका–१ मलाही टोलमा गाँजा ओसारपसार भइरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू प्रहरी टोलीलाई देख्नासाथ भाग्न खोजेपछि प्रहरीले पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरेको थियो। त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा ३० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका–१ का ५० वर्षीय महेश सहनी, ३४ वर्षीय नन्दलाल सहनी र ७५ वर्षीय भुटी भन्ने भुरी चौधरी रहेका छन्।
उनीहरूलाई नियन्त्रणमा लिई लागूऔषधसम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
