बारा । जितपुर–सिमरा उपमहानगरपालिका–८ इमलीप्रतिबाट १५५ किलो ६३५ ग्राम लागूऔषध गाँजासहित एक कार चालक पक्राउ परेका छन्।
विशेष सूचनाका आधारमा बुधबार बिहान करिब ९ बजे मनहरीबाट वीरगन्जतर्फ जाँदै गरेको बा.१३ च ४७३४ नम्बरको कारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। कारलाई इलाका प्रहरी कार्यालय सिमरा, बारामा ल्याई चेकजाँच गर्ने क्रममा रातो प्लास्टिकले बेरी लुकाइछिपाई राखिएको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
गाँजासहित पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–१ बस्ने २८ वर्षीय अम्बिर डिम्डुङ रहेका छन्।
प्रहरीले कार, बरामद गाँजा र पक्राउ परेका चालकलाई इलाका प्रहरी कार्यालय सिमरामा राखी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
