काठमाडौं । काठमाडौंको टेकेस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार २०८३ असोज १६ गते बिहान करिब १ बजे अस्पतालको आकस्मिक कक्षमा पुगेका व्यक्तिहरूले ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई गालीगलौज, धाकधम्की र हातपात गरेका थिए।
घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गर्दा तीन जनाको संलग्नता देखिएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएकाहरूमा काठमाडौंको कीर्तिपुर नगरपालिका–४ निवासी ४१ वर्षीय रामकुमार बुढाथोकी, २३ वर्षीय आयुष बुढाथोकी र २७ वर्षीय सचिन बुढाथोकी रहेका छन्।
उनीहरूलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
