काठमाडौं। राजधानीका बिभिन्न स्थानमा मेलम्चीको खानेपानी आयोजनाको पानी वितरण भइरहेको छ। चैत १५ गतेदेखि आयोजनाले परीक्षण चरणमै वितरण प्रणाली सक्रिय पारेसँगै अहिले दैनिकजसो राजधानीबासीका धारामा पानी आउँछ।
काकाकुल काठमाडौंलाई मेलम्चीको पानीले राहत मिलेको छ। धाराबाट पर्याप्त पानी आउन थालेपछि बिभिन्न चोक र गल्लीमा उपभोक्ताहरु खुसी छन्। तर काठमाडौं भित्रैको कपन क्षेत्रमा भने खानेपानी उपभोक्ता निराश छन्। यहाँ मेलम्चीको पानी पुगेको छैन।
उक्त क्षेत्रमा पहिलो चरणमा नै मेलम्चीको पानी वितरणको योजना थियो। तर ठेकेदार कम्पनीले काम अलपत्र पारेका कारण कहिलेबाट वितरण गर्ने भन्ने अझै अन्योल छ। खानेपानीका प्राविधिकहरुका अनुसार ट्यांकी, मुख्य पाइपलाइन र वितरण लाइन बिस्तार ठेक्का लिएको शैलुङ कन्स्ट्रक्सनले काम अलपत्र पार्दा कपनमा मेलम्चीको पानी वितरण हुन नसकेको हो।
घना बस्ती रहेको कपन क्षेत्र बुढानिलकण्ठ नगरपालिकामा पर्छ। उक्त क्षेत्रमा पाइपलाइन बिछ्याउने र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का पाएको शैलुङले पेटी-ठेकेदारमार्फत काम गराउँदै थियो। आरुबारीमा करिब १२ सय ७० घनमिटर क्षमताको ओभरहेड ट्यांकी र कपन क्षेत्रमा करिब १ सय ६० किमि (मुख्य र वितरण) पाइपलाइन विस्तार गर्ने ठेक्का हो। तर पेटी-ठेकेदारले पनि हात झिकेपछि काम अलपत्र छ।
आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) अनुसार करिब २० किलोमिटर पाइपलाइन बिछ्याउने र ओभरहेड ट्यांकीको फाउण्डेसन बनाउँदा बनाउँदै निर्माण कम्पनीले छाडेको छ। ‘पेटी ठेकेदार लगाएर काम सुरु गरेको थियो। अलि अलि काम गरिरहेकै थिए। शैलुङले पैसा नै दिएन भनेर उनीहरु हिँडे,’ आयोजनाका एक इन्जिनियरले भने,’दुःख दिने पनि एउटा हद हुन्छ नि। कुनै समस्या नहुँदा नी काम गर्दैन। कति बैठक बस्नु,कति काम गर भनेर निर्देशन दिनु ! हामी त हैरान भइसक्यौं।’
पीआइडीका अनुसार ठेक्का सम्झौता गरेर ९ महिनासम्म कामै गरेन। आयोजनाले ठेक्का तोड्ने चेतावनी, स्थानीय वडाध्यक्ष, मेयर, सांसद सबैले दबाब दिएपछि काम सुरु गरेको थियो। करिब १५ प्रतिशत काम गरेपछि अहिले रोकिएको छ। भारतबाट पाइप र फिटिङ्स नै ल्याउन नसकेका कारण काम अघि बढाउन नसकेको प्राविधिक बताउँछन्।
‘पाइप ल्याएपछि ४० प्रतिशत पैसा पाउने प्रावधान ठेक्कामा छ,’ एक इन्जिनियरले भने,’पाइप ल्याएको भए शैलुङ बिल बोकेर आउँथ्यो। ल्याउन सकेको छैन कसरी काम गरोस् !’ अरु आवश्यक निर्माण सामाग्री समेत साइटमा पर्याप्त छैन। कहिलेकाही केही कामदारले भने आएर काम गर्ने गरेको आयोजनाका अधिकारीहरुको भनाइ छ।
‘ठेक्का तोडेर काम नयाँ लगाउन झन्झट छ। समय, लागतदेखि हरेक कुरा हुन्छन्,’ आयोजनाका एक अधिकारीले भने, ‘यसलाइ झेलेर बस्न सक्ने अवस्था पनि छैन। अब हामी छलफल गरेर के गर्ने भन्ने टुंगोमा पुग्छौं।’
निर्माण कम्पनी र आयोजनाबीचमा ३० महिनामा काम सक्नेगरी २०१९ मार्चमा ठेक्का सम्झौता भएको थियो। आगामी सेप्टेम्बरमा काम सक्नुपर्ने भए पनि आयोजनाको एक चौथाइ प्रगति हुन सकेको छैन। भारतीय कम्पनी सीआइपीइलसँग जेभी बनाएर कम्पनीले सबैभन्दा कम कबोल गर्दै करिब १ अर्ब ४१ करोड ६९ लाख रूपैयाँमा ठेक्का हात पारेको हो। ‘यो ठेक्कामा शैलुङको योग्यता पुग्दैनथ्यो। भारतीय कम्पनीलाई लिडिङ जेभी बनाएर ठेक्का हात पारेको हो,’ एक इन्जिनियरले भने। करिब ५ प्रतिशत भुक्तानी समेत पाइसकेको आयोजनाका उपनिर्देशक उज्वल प्रजापतिले बताए। उनका अनुसार निर्माण कम्पनीको काम सन्तोषजनक छैन।

शैलुङ कन्स्ट्रक्सन शारदा अधिकारीको कम्पनी हो। अधिकारी तिनै हुन् जसको खुमलटारस्थित घरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाडामा बस्छन्। अधिकारीले शक्तिका आडमा अर्बौका ठेक्का लिएर अलपत्र पारेका छन्। बिना मगर खानेपानी मन्त्री भएकै बखत अधिकारीले आयोजनाको ठेक्का पाएका हुन्। पूर्वमन्त्री मगर आफैं पनि अहिले खुमलटारको अधिकारीकै घरमा बस्छिन्।
अधिकारीले आयोजनाबाटै मेलम्चीको पानीको पाइप बिछ्याएपछि भत्किएको सडक मर्मत गर्ने ठेक्का समेत अलपत्र पारेका थिए। करिब १२ किलोमिटर खण्डको कामै नगरेपछि आयोजनाले ६ करोड रुपैया मोबिलाइजेसन तानेको थियो। शैलुङले भक्तपुर-नगरकोट (१५.६६ किमि) सडक वर्षौदेखि अलपत्र पारेको छ। बालाजु-रानीपौवा-त्रिशूली (१७ किमि)को अवस्था पनि उस्तै नाजुक छ।
सडक डिभिजन काठमाडौं, उपत्यका सडक विस्तार लगायतबाट दर्जनौं आयोजना हात पारेर शैलुङले काम गरेको छैन। ‘शक्तिको आडमा अर्बौका ठेक्का लिएका छन्। सधैं पावरमा सबै जना हुन्छन भन्ने छैन। काम लिएपछि नगरेर सुख छैन,’ सडक विभागका एक इन्जिनियरले भने, ‘उनले त पावर भएका बेला काम गरेर देखाउनुपर्ने, कामै गर्दैनन। हामी त हैरान भइसक्यौं।’
