काठमाडौँ — थप ७ वटा जिल्लामा शनिबार निषेधाज्ञा घोषणा भएको छ । कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै मकवानपुर, गुल्मी, प्यूठान, काभ्रे, गोरखा, उदयपुर र बाजुराका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा घोषणा गरेका हुन् । योसँगै निषेधाज्ञा घोषणा गर्ने जिल्लाको संख्या ३० पुगेको छ ।
यी जिल्लामा अत्यावश्यक र प्रशासनले अनुमति दिएका बाहेकका पेसा/व्यवसाय तथा सेवा सञ्चालनमा रोक लगाइएको छ ।
गुल्मी, प्यूठान र उदयपुरमा जिल्लाभर र काभ्रे, मकवानपुर, गोरखा र बाजुरामा जोखिम बढेका क्षेत्रमा निषेध आदेश जारी भएको हो । काभ्रे र मकवानपुर प्रशासनले आइतबार मध्यरातदेखि लागू हुने गरी मुख्य राजमार्ग र आसपासको क्षेत्रलाई केन्द्रित गरी निषेधाज्ञा लगाउने भएका हुन् । त्यस्तै, गोरखाको भीमसेन थापा गाउँपालिका–७ र ८ तथा बाजुराको हिमाली गाउँपालिकामा पनि निषेध आदेश जारी भएको छ ।
