काठमाडौं । सत्तारुढ नेकपा एमाले आन्तरिक विवादको भङ्गालोबाट बाहिर आउन सकेको छैन । महिनौँदेखि संस्थापन र माधवकुमार नेपाल समूहबीचको टकरावले एमाले फुटको संघारबाट अघि बढ्दै आएको छ । तर, देखिने गरी सहमति नभए पनि एमाले फुटबाट जोगिएको छ । एमालेको एकतालाई जोगाउन दोस्रो पुस्ताको हात र भूमिका देखिएको छ ।
मुलुकको राजनीतिक इतिहासमा विभाजनपछि गठन गरिएका नयाँ राजनीतिक दलहरुलाई जनताले विश्वास नगरेको र उनीहरु राष्ट्रिय दलको हैसियतसम्म पाउन नसकेको देखिन्छ ।
त्यसमाथि एमालेको चुनाव चिन्ह सूर्यसँग जनताको भावना गाँसिएको छ । सूूर्य चिन्ह छाडेर वा नयाँ राजनीतिक दल गठन गरेर जनताको मन जित्न नसकिने युवा नेताहरुको बुुझाइरहँदै आएको छ ।
एमालेबाट अलग भएर नयाँ पार्टी खोलेर दश हण्डर खाएर फेरि एमालेमै फर्किएका वामदेव गौतम एमालेभित्रै जिउँदो इतिहास रहेका छन् । जस कारण पार्टी विभाजन गर्न नहुने निष्कर्षमा नेपाल समूहका युवा नेताहरुको जोड रहँदै आएको छ ।
एमालेको एकताका लागि नेपाल समूहबाट सुरेन्द्र पाण्डे, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट बारम्बार संस्थापन पक्षसँगको संवादमा रहँदै आएका छन् ।
उनीहरुले संस्थापन पक्षलाई आफूहरुको माग सम्बोधन गर्न राजी गराउँदा पनि नेपाल समूहका शीर्षनेताहरु विभिन्न बखेडा झिकिरहेका छन् ।
एमालेका पाण्डे र विष्टले आइतबार बालुवाटार पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग आफूहरुको माग पूरा गराउन तीन बुँदे लिखित प्रस्ताव गरेका थिए । जसमा ओलीले सहमति जनाएका थिए ।
नेपाल समूहका घनश्याम भुसालले उक्त प्रस्तावको मस्यौदाका २ वटा बुँदा उल्ट्याएपछि फेरि संस्थापन पक्ष वार्ता, संवाद र एकताको सम्भावना टरेको निष्कर्षमा पुुगे ।
तर, नेपाल समूहका युवा नेताहरुले आफूहरु पार्टीको विभाजनको पक्षमा नरहेको र पार्टी विभाजनको अवस्था आए ओली समूहमा जाने चेतावनी दिएका छन् । जस कारण नेपाल समूहलाई सहमतिमा आउन दबाब परेको छ ।
युवा नेताहरुको साथ बिना नेपाल समूहले पार्टी विभाजनको निर्णय लिन नसक्ने नेताहरुले बताइरहेका छन् । आफ्नै समूहका युवा नेताहरुको पार्टी एकताको घेराबन्दीमा माधवकुमार नेपालसहितका शीर्ष नेताहरु परेका छन् ।
कतिपयले माधव नेपाल जसरी पनि एमालेबाट अलग हुन चाहेको बताउँछन् । माधव नेपाल र एक दुई नेता अलग भइहाले पनि युवा नेताहरु एमालेमै रहने उनीको बुुझाइ छ ।
