काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइएको छ ।
आइतबार बसेको काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यही असार २२ गते मंगलबारदेखि लागू हुने गरी जोर विजोर प्रणाली हटाउँदै १० दिनका लागि निषेधाज्ञा जारी गरेको छ ।
सबै यातायातका साधन चलाउन अनुमति दिए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने प्रशासनले भनेको छ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन ।
सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न अनुमति दिइएको छ । यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो।
माइक्रोको तेस्रो सिटमा चार–चार जनाका दरले ८ जना र चालक छेउमा एक जना गरी ९ जना यात्रुभन्दा धेरै बोक्न पाइने छैन।
सवारीको मध्यभागमा दुईतर्फी यात्रुहरू छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्नेछ।
यही असार २२ गतेदेखि ३१ गतेसम्म जारी गरिएको निषेधाज्ञामा सभा तथा सम्मेलन गर्न पाइने छैन। साथै जिल्ला प्रशासनबाट अब अनुमति लिएर काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न छुट दिइएको छ ।
पूर्वनिर्धारित परीक्षाहरू सञ्चालन गर्न पाइनेछ भने परीक्षा हलमा २५ जना मात्रै विद्यार्थी राख्नुपर्नेछ।
यस्तै सबै प्रकारका सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेसजस्ता भीडभाड हुने क्षेत्र र कार्यक्रम गर्न रोक लगाइएको छ ।



