विराटनगर। चीनमा प्लास्टिकका वस्तु बनाउन प्रयोग हुने कच्चा पदार्थ ग्रयानुअल्सको माग अत्यधिक भएपछि मूल्य अहिलेसम्मको उच्च भएको छ।
कोभिड संक्रमण कम भएपछि चीनमा प्लास्टिक दानाको माग अत्यधिक भयो। त्यसपछि लगातार उकालो लागेको कच्चा पदार्थको मूल्य अमेरिकाको हिमपातका कारण थप बढ्यो। अमेरिकामा भएको व्यापक हिमपातका कारण त्यहाँका ठूला रिफाइनरी बन्द भएर दानाको उत्पादन ठप्प हुँदा थप मूल्य बढेको हो। अमेरिकाको हुस्टन राज्यमा धेरै प्लास्टिक दाना बनाउने रिफाइनरी छन्।
नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समितिका सभापति एवं टिएसएन बिजनेस ग्रुपका भरत आचार्यले कोभिडपछि चीनमा प्लास्टिकको कच्चा पदार्थको माग अत्यधिक भएको बताउँदै त्यसले मूल्य आकासिएको बताए। ‘प्लास्टिकको कच्चा पदार्थको मूल्य मार्च अगाडि घट्ने देखिएको छैन्। चीनमा अत्यधिक माग र पेट्रोलियम पदार्थको मूल्य पनि आकासिँदा त्यसको प्रभाव परेको हो,’ उनले बिजमाण्डूसँग भने।
व्यवसायीले फेब्रुअरी लागेपछि मूल्यमा सुधार हुने अपेक्षा गरेका थिए। तर अमेरिकाका सबैजसो उद्योग बन्द भएपछि मूल्यवृद्धि अचाक्ली भएको छ। अमेरिकाका रिफाइनरी उद्योगहरूमा २० फिटसम्म हिउँ जमेर काम गर्न नसकिने अवस्था भएको बताइएको छ। अमेरिकाका रिफाइनरी उद्योगले ब्राजिल, भेनेजुएला, कोलम्बिया, अर्जेन्टिना, चिली लगायतका ल्याटिन अमेरिकी देशहरूमा दानको निर्यात गर्दै आएका थिए।
अमेरिकाबाट आपूर्ति बन्द भएपछि ल्याटिन अमेरिकी देशले खाडी मुलुकबाट प्लास्टिक दानाको पैठारी गर्न थालेका छन्। नेपालका अधिकांश व्यवसायीले पनि खाडी मुलुकबाटै दानाको पैठारी गर्दै आएका छन। यसैबीच ल्याटिन अमेरिकी मुलुकका उद्योगले माग र मूल्य दुवै उच्च देखाएपछि खाडी राष्ट्रका रिफाइनरीहरू त्यसतर्फ मोडिएका हुन्।
नेपालमा धेरैजसो साउदी अरब, कुबेत, कतार, युएई र भारतबाट दानाको पैठारी गरिने व्यवसायी दिवाकर राठीले जानकारी दिए। ‘निर्यातकर्ता कम्पनीले दाना बिक्रीको अफर वा अक्सनको सूचना आफ्नो वेबसाइटमा राख्छन्,’ मोरङ व्यापार संघका उपाध्यक्ष एवं प्लास्टिक उद्योगी अनुपम राठीले भने, ‘त्यही अफर वा अक्सनको सूचनाका आधारमा नेपालका पैठारीकर्ताले सौदाबाजी गर्छन् । तर १० दिनयता कुनै पनि कम्पनीले अफर र अक्सन दुवै निकालेका छैनन्। भारतका रिफाइनरी र निर्यातकर्ता व्यवसायी पनि नेपालका व्यवसायीलाई दाना बिक्री गर्न इच्छुक देखिँदैनन्।’
यसरी अफर वा अक्सन निकाल्ने कम्पनीहरूमा सउदी अरबको स्याबिक र मार्लेक्स, अबुधाबीको बोरोउज तथा भारतको आइओसिएल र ओपल मुख्य छन्। उपाध्यक्ष राठीले ल्याटिन अमेरिकी मुलुकका उद्योगले आकर्षक मूल्य दिएका कारण भारतका रिफाइनरी उद्योग तथा निर्यातकर्ता पनि ल्याटिनतिरै मोडिएको बताए।
उद्योग संगठन मोरङका कोषाध्यक्ष एवं प्लास्टिकका सामग्रीका निर्माता नन्दकिशोर राठीका अनुसार एकातिर निर्यातकर्ता कम्पनीले अफर र अक्सन निकालेका छैनन् भने अर्कातिर नेपालका व्यवसायी दानाको पैठारी गर्न इच्छुक पनि छैनन्। उद्यमी राठीले अहिले महँगो मूल्यमा खरिद गरेको दानाको बजार मूल्य हप्ता दिनमै एक्कासि खस्कियो भने ठूलो घाटा ब्यहोर्नुपर्ने डरले उद्योगीले भएको कच्चा पदार्थ मात्र प्रशोधन गरिरहेको र थप कच्चा पदार्थको सौदा नगरिरहेको दाबी गरे। उनले नेपालका सबै प्लास्टिकजन्य उद्योगले १० दिनयता आफ्नो उत्पादनमा ५० प्रतिशतसम्मले कटौती गरिसकेको दाबी गरे।
कृष्णा फेब्रिक प्याकेजिङ उद्योगका सञ्चालक सन्तोष अटलले अगस्त, सेप्टेम्बरतिर दानाको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रति टन ८ सय देखि ९ सय अमेरिकी डलर रहेको र अक्टोबर लागेपछि ११ सयदेखि १२ सय डलर पुगेको विवरण दिए। उद्योगी अटलले भने, ‘करिब ४ महिना ११ सय देखि १२ सय डलरको मूल्य स्थिर रह्यो। तर फेब्रुअरी मध्यदेखि १९ सय डलरसम्म पुगेको छ।’
प्लास्टिक दानासँगै जुत्ताचप्पलमा प्रयोग गरिने कच्चा पदार्थ इबा, पियु, पिभिसी रेजिन र डिओपी लगायतका सामग्रीको पनि मूल्यवृद्धि भएको छ। म्याजिक चप्पलका सञ्चालक अनुज पोद्दारले इवाको मूल्य प्रति टन १६ सय डलरबाट २५ सय डलर पुगिसकेको छ। इबाको पैठारी जापान, कोरिया, सउदी अरब लगायतका देशबाट गरिन्छ।
जुत्ताचप्पलमै प्रयोग गरिने पियु सिस्टमको मूल्य प्रतिकिलो १ दशमलव ३५ डलरबाट २ दशमलव ४ डलर पुगेको उद्योगी पोद्दारले उल्लेख गरे। पियु सिस्टमको पैठारी चीनबाट गरिन्छ । सिंगापुर पनि पियुको मुख्य कारोबार स्थल हो तर त्यहाँको पियु अझ महँगो हुन्छ। त्यस्तै जुत्ताचप्पलकै अर्को कच्चा पदार्थ पीभीसी रेजिनको मूल्य प्रति टन १२ सय डलरबाट १७ डलर पुगेको छ। यसको पैठारी थाइल्यान्ड, कोरिया र चीनबाट गरिन्छ।
उद्योगी पोद्दारका अनुसार मलेसिया र कोरियाबाट झिकाइने अर्को कच्चा पदार्थ डिओपीको मूल्य पनि प्रति टन १३ सयबाट २२ सय डलर पुगिसकेको छ। नेपालमा प्लास्टिकबाट झोला, बाटा, बाल्टी, गमला लगायतका भाँडाकुँडा, अन्य प्याकेजिङ सामग्री, पाइप, कुर्सी, ओभन स्याक्स (प्लास्टिक त्रिपाल), र ननओभन स्याक्स (मोटो झोला बनाउने सामग्री) र प्लास्टिकका बोरा लगायतका प्लास्टिक उद्योग सञ्चालित छन्।
देशभरि कुर्सीका ९ वटा र भाँडाकुँडाका ७ वटा ठूला कारखाना सञ्चालनमा छन्। प्लास्टिक दानाको मूल्यमा वृद्धि भए पनि उत्पादित सामग्रीको भने खासै बढ्न नसकेको छैन। नेपालमा प्लास्टिक दानाको बफर स्टक(ठूलो परिमाणमा मौज्दात) गर्ने केही उद्योगले आफ्ना उत्पादनको मूल्यमा वृद्धि नगरेका कारण अन्य उद्योगले घाटामा मालवस्तु बिक्री गरिरहनु परेको विराटनगरका उद्योगीको भनाइ छ।
