काठमाडौं। वाणिज्य बैंकहरुले पछिल्लो केही सातादेखि निक्षेपभन्दा दोब्बरले ऋण दिन थालेका छन्। गत साता मात्रै १३ अर्ब निक्षेप उठाएर २६ अर्ब रुपैयाँ ऋण दिएका छन्।
त्यसअघिको साता त ११ अर्ब उठाएर २७ अर्ब ऋण दिएका थिए। एक महिनामा बैंकहरुले कुल ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। तर ऋण बिस्तार ७० अर्ब रुपैयाँ छ।
बैंकहरुले निक्षेपभन्दा ऋण बिस्तार तीव्र रूपमा गर्दा तरलतामा दबाब पर्न थालेको छ। बैंकरका अनुसार, पछिल्लो समय आयातका लागि ऋण गइरहेको छ। यसमध्ये कतिपय उपभोगसँग सम्बन्धित छ भने कतिपय निर्माण सामाग्री र अन्य कच्चा पदार्थसँग सम्बन्धित छ।
बैंकहरुले चालु आर्थिक वर्षमा कुल ३३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। तर ऋण बिस्तार ४८५ अर्ब रुपैयाँ छ। निक्षेप संकलनभन्दा ऋण १४९ अर्ब रुपैयाँ बढी दिइसकेका छन्। यो फागुन २१ गतेसम्मको तथ्यांकमा आधारित हो।
अहिलेसम्म बैंकहरुले कुल ३८ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ऋण ३३ खर्ब ८८ अर्ब रुपैयाँ दिएका छन्।
