चितवन । बझाङमा निर्माणाधिन ३८ मेगावाट क्षमताको कालंगाड जलविद्युत आयोजनाको मुख्य सुरुङमार्गको ब्रेकथ्रु सम्पन्न भएको छ।
आयोजनाको ८ किलोमिटरभन्दा लामो मुख्य सुरुङको ब्रेकथ्रु भएसँगै आगामी असारसम्ममा परीक्षण उत्पादन सुरु गर्ने पनि आयोजनाले तयारी गरेको छ।
माथिल्लो कालंगाड आयोजनाको सुरुङ नीजि क्षेत्रबाट अहिलेसम्म प्रवर्द्धित आयोजनाहरु मध्येकै सबैभन्दा लामो सुरुङ हो। राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजनाको सुरुङ मार्ग पनि साढे ८ किलोमिटर मात्रै लामो छ। यस जलविद्युत आयोजनाको मुख्य सुरुङको लम्बाई भने त्योभन्दा झन्डै तीन सय मिटर मात्रै कम (कुल ८.१५३ किमी) छ ।
त्यस्तै सुदूरपश्चिममा निर्माण सम्पन्न आयोजनामध्ये माथिल्लो कालंगाड अहिलेसम्मकै ठूलो आयोजना समेत हुनेछ। बझाङ जिल्लाको पहिलो र सुदूरपश्चिमको पाँचौ आयोजना क्षमताका हिसाबले पनि प्रदेशकै सबैभन्दा ठूलो आयोजना हुने छ।
यसअघि दार्चुलामा निजी क्षेत्रबाट साढे आठ मेगावाटको नौगाड, आठ मेगावाटको माथिल्लो नौगाड, विद्युत प्राधिकरणबाट ३० मेगावाटको चमेलिया र डोटीमा ३.३ मेगावाटको कपाडीगाड जलविद्युत आयोजना मात्रै सञ्चालनमा छन्।
अति जटिल भूबनोट भएको बझाङमा आयोजना निर्माण गर्नु निकै चुनौती पूर्ण रहेपनि प्रवर्द्धकहरुले समयमै निर्माण सम्पन्न गर्ने गरि कामलाई तिब्रता दिएका थिए। कोभिडका कारण आयोजना एक वर्ष पछि नसरेको भए तोकिएकै समयमा आयोजनाको काम सम्पन्न हुने पनि आयोजनाको दावी छ।
२०७३ भदौमा वित्तीय व्यवस्थापन गरेर आयोजनाको काम अघि बढाइएको थियो। २०७७ साउन/भदौमा आयोजना सम्पन्न गर्ने लक्ष्य रहेकोमा कोभिडले काम प्रभावित भएपछि ठिक एक वर्ष पछि आयोजनाको काम सम्पन्न हुन लागेको हो।
आयोजनाको बाँध, विद्युत गृह देखि सम्पूर्ण भौतिक संरचनाको निर्माण ९५ प्रतिशत भन्दा बढि सम्पन्न भएको आयोजनाका सञ्चालक शिवप्रसाद घिमिरेले बिजमाण्डूलाई बताए।
सुदूरपश्चिम प्रदेशको उत्पादन १०० मेगावाट नाघ्ने
अहिले सुदूरपश्चिममा निजी क्षेत्रबाट ८.५ मेगावाटको नौगाड, आठ मेगावाटको माथिल्लो नौगाड, ३.३ मेगावाटको कपाडीगाड जलविद्युत आयोजना र विद्युत प्राधिकरणबाट ३० मेगावाटको चमेलिया जलविद्युत आयोजना मात्रै निर्माण सम्पन्न भएका छन्।
कालंगागाड करिडोरका तीन वटा आयोजनाले विद्युत उत्पादन सुरु गरेमा सुदूरपश्चिममा ६ वटा आयोजनाबाट १०० मेगावाट भन्दा बढी विद्युत उत्पादन हुने छ।
कालंगाडमा तीन वटा आयोजनाबाट गरि करिब ६५ मेगावाट विद्युत उत्पादन हुँदै छ। १५.३३ मेगावाटको कालंगाडबाट बैशाखदेखिनै परीक्षण उत्पादनको तयारी गरिएको घिमिरेले बिजमाण्डूलाई बताए।
३८.४६ मेगावाटको माथिल्लो कालंगाडको परीक्षण उत्पादन आगामी असार देखि सुरु गर्ने तयारी छ। १०.७ मेगावाटको सानीगाड जलविद्युत आयोजना भने बाँकी दुई वटा आयोजनाको विद्युत उत्पादन सुरु भएको ३ महिनापछि मात्रै सञ्चालनमा आउने घिमिरेले बताए।
.jpg)
माथिल्लो कालंगाडको १७ सय मिटर सुरुङमा समस्या आएपछि ७०० मिटर रुट परिवर्तन गरेर ब्रेक थ्रु गरिएको घिमिरेले बताए। सानीगाड आयोजनाको सुरुङमा पनि समस्या देखिएपछि तीन महिनापछि मात्रै विद्युत उतपादन सुरु हुने भएको हो।
तीनवटै आयोजनाको लागत १२ अर्ब रुपैयाँ अनुमान गरिएकोमा कोभिड १९ का कारण आयोजनाको काम प्रभावित भएपछि करिब एक अर्ब रुपैयाँ लागत बढ्ने अनुमान गरिएको छ।
तीन वटै आयोजनाको अध्यक्ष उमेश श्रेष्ठ हुन्। सञ्चालकहरुमा शिवप्रसाद घिमिरेका अलवा राजेश श्रेष्ठ, खगेश्वर बोहरा, तीर्थराज चट्टौज र बिरेन्द्रबहादुर मल्ल रहेका छन्।
उत्पादन सुरु गरेपछि सर्वसाधारणलाई आइपीओ बिक्रि गरिने
आयोजनाले विद्युत उत्पादन सुरु गरिसकेपछि मात्रै सर्वसाधारण र स्थानीय प्रभावितका लागि आइपीओ जारी गर्ने तयारी गरेको छ।
विद्युत उत्पादन र आइपीओ निष्काशन संगसँगै हुने गरि बिक्रि प्रबन्धक खोज्ने देखि क्रेडिट रेटिङ सम्मका प्रक्रिया सुरु गरिएको सञ्चालक घिमिरेले बताए।
आयोजनामा ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी रहेको छ। स्वपूजीको १० प्रतिशत स्थानीय प्रभावित र २० प्रतिशत आम सर्वसाधारणलाई सेयर जारी गर्ने आयोजनाको तयारी छ।
