मुख गला सुक्छ नाडी गल्छ मालिक।
मजदुर ढले यो दुनियाँ ढल्छ मालिक।
तपाईंको सभामा छल पो चल्दोरहेछ।
हाम्रो चौतारोमा त हावा चल्छ मालिक।
कोदाली,ठेला,फोरा त हामी सङ्ग छ,
कसको भकारीमा फसल छ मालिक?
हाम्रो अगेनो पनि जलाउनुस् बेलाबेला,
नत्र हजुरको साम्राज्य जल्छ मालिक।
हजुरको कुर्सीमा चलिरहेको यो पंखा,
भन्नुस् न कसको रगतले चल्छ मालिक।
