काठमाडौँ । सत्तारुढ एमालेको विवाद समाधान भइसकेको छैन । गत आइतबार अध्यक्ष केपी शर्मा ओलीले गरेको ६ बुँदे प्रस्तावलाई असन्तुष्ट माधवकुमार नेपाल समूहले अस्वीकार गरेको छ । पार्टी एकताका लागि भन्दै अध्यक्ष ओलीले गरेको ६ बुँदे प्रस्तावलाई नेपाल–खनाल समूहले अस्वीकार गर्दै जालसाझी भनेको छ ।
नेपाल समूहले जालसाझी भने पनि केही नेताहरुलाई एमालेको संस्थापन पक्षमा सहभागी हुन वातावरण बनाएको नेताहरुबीच कुरा हुन थालेको छ ।
आफ्नो समूहको निर्णयविपरीत कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेर पार्टी एकताका लागि पहल जारी राखेका युवा नेताहरुलाई एमालेको मूल प्रवाहमा ल्याउन ओलीले ६ बुँदे प्रस्ताव गरेर ढोका खोलिदिएको टिप्पणी भइरहेको छ ।
नयाँ पार्टी खोल्न नहुने र एमालेको एकताका लागि पहल जारी राख्नुपर्ने विचार र अडान राख्दै आएका योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेसहितका युवा नेतालाई आफ्नो समूहमा आउने वातावरणका लागि ६ बुँदे प्रस्ताव अध्यक्ष ओलीले सार्वजनिक रुपमा गरेका हुन् ।
यसको सत्यतालाई बल पुग्ने गरी अध्यक्ष ओलीले ६ बुँदे प्रस्ताव गरेको केही घण्टामै सामाजिक सञ्जाल फेसबुकमार्फत योगेश भट्टराईले सकारात्मक भन्दै घुमाउरोशैलीमा स्वागत गरेका थिए । भलै उनी अहिले नेपाल समूहमै रहे पनि ।
‘नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक वक्तव्यमार्फत गर्नु भएको आह्वानमूलत सकारात्मक छ’, फेसबुकमा भट्टराईले भनेका छन्, ‘कार्यदल स्तरको छलफललाई यो वक्तव्यले पुन निरन्तरता दिन बाटो खुलेको छ । पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पस्ट गर्नु पर्ने र मिलाउनु पर्ने थप बिषयहरुलाई समाधान गर्ने छ । सर्बोच्चमा बिचाराधिन बिषयमा सबै संभावनालाई ख्याल गर्दै र मुलत संबिधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निश्कर्समा पुग्नु उपयुक्त हुनेछ । सारमा अध्यक्षको बक्तब्यले पार्टीको शिर्स नेत्रित्वका बिचमा सार्थक संबाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्घत पुग्ने अपेक्षा गर्दछु । हजार माईलको यात्रा पहिलो पाईलाबाट नै शुरु हुन्छ ।’

आइतबार राति ६ बुँदे प्रस्ताव सार्वजनिक गरेर अध्यक्ष ओलीले भट्टराई, विष्ट, पाण्डेसहितका युवा नेताहरुलाई नेपाल समूह छाडेर संस्थापन पक्षमा आउन ढोका खोलिदिएको चर्चा सो पार्टीका नेताहरुबीच भइहरेको छ । उक्त ६ बुँदे प्रस्तावप्रति सोही दिन राति १० बजेर ३ मिनेटमा भट्टराईले प्रतिक्रिया दिएका थिए ।
नेपाल समूहका अरु नेता संस्थापन पक्षमा नगए पनि उनीहरु भने जाने अनुमान गरिँदै आएको छ । पार्टीका एकताका लागि नेपाल समूहको माग पूरा गर्दै जारी गरिएको उक्त ६ बुँदे प्रस्तावलाई आधारमा मानेर युवा नेताहरुलाई फर्कने वातावरण बनाइएको बताइन्छ ।
