काठमाडौं । अपराहन्न ३ बजे । कन्ट्री कोड बेलायत रहेको एउटा नम्बरबाट ह्वाट्सएपमा म्यासेज आयो । म्यासेजमा आफूलाई एलियस फ्र्यांक नामबाट चिनाउँदै मेरो हाल खबर सोध्न थाल्यो ।
विभिन्न अनलाइन साइट सर्फ गर्दा धेरैपटक आफ्नो इमेल एड्रेस लग–इन गरेको छु । सायद कुनै साइटले क्वेरी वा सर्वेक्षणका लागि मेरो फोन नम्बर ‘रिट्राइभ’ गरेर मसँग कुरा गर्न खोजेको होला भन्ने लाग्यो ।
उक्त व्यक्तिलाई आफूले नचिन्ने जानकारी गराउँदै सुरुमा त उसको परिचय र त्यसपछि मेरो सम्पर्क नम्बर कसरी प्राप्त गर्यो भन्ने बारेमा सोधेँ ।
उसले आफू रोमनियाको नागरिक भएको र लन्डनमा चिकित्सा पेसा गर्दै बसिरहेको बतायो । साथै मेरो प्रोफाइल फेसबुकमा देखेको तर आफू फेसबुक नियमित नचलाउने भएका कारण ह्वाट्सएपमा जोडिन आएको कुरा बतायो ।
त्यो कुराले मलाई सशंकित बनायो । कारण मैले फेसबुक साइनअप गरेको र ह्वाट्सएपमा प्रयोग गरेको नम्बर फरक थियो । विस्तारै त्यो व्यक्तिले मसँग व्यक्तिगत विषयमा कुराकानी गर्न थाल्यो ।
मलाई त्यो अनलाइन स्क्याम हो भन्ने आशंका भयो । तैपनि ऊसँग केही नजाने जसरी म्यासेजमा कुराकानी गरिरहेँ । कुराकानी भएको तेस्रो दिनपछि उसले मलाई ‘असल साथी’ को रुपमा लिएको भन्दै ‘सरप्राइज दिन’ विभिन्न उपहार पठाइदिन लागेको बतायो । उपहारमा महंगो गुचीको ह्यान्डब्याग, दुई–तीन जोर लेडिज स्यान्डल र हिल जुत्ता, गहना, टिसर्ट, आइफोन आदि सपिङ गरेको फोटो तथा भिडियो ह्वाट्सएपमा पठायो ।
कुनै अन्तर्राष्ट्रिय कुरियर कम्पनीको स्टिकर भएको तयारी प्याकेज पर्सलको समेत तस्बिर पठाउन भ्यायो । उक्त पार्सलभित्र ४० हजार पाउन्ड स्टर्लिङ पनि राखेर पठाएको छु भनी जानकारी दियो । साथै अप्ठ्यारो नमानीकन उपहार स्वीकार गर्न भन्यो । त्यसपछि भने मलाई उसले कुनै ठूलो स्क्याममा फसाउन खोजेको निश्चित भयो ।
अगाडि गएर के–के गर्ने रहेछ ? कसरी स्क्याम गर्ने रहेछ भनेर बुझ्न उसले भनेअनुसार आफ्नो फर्जी ठेगाना पनि दिएँ । यसपछि उसले अबको तीन दिनमा तिमीले मेरो उपहार आफ्नै ठेगानामा प्राप्त गर्छौ भन्यो ।
