मलाई राजनितीमा युवा आउनुपर्छ र युवा आएपछि मात्र ठिकठाक हुन्छ भन्ने कहिले पनि लागेन । कलेज पढ्दै गर्दा बिद्यार्थीकालिन राजनिती धेरथोर बुझ्ने अवसर पाएकाले पनि होला म युवाको राजनितीबारे जहिले निराशावादि रहेँ ।
जुन प्रक्रियाबाट युवाहरु राजनितीमा छिरिरहेका थिए र अवसर पाएका खण्डमा जुन हर्कत देखाईरहेका थिए – त्यसले त झन् मलाई जहिले प्रष्ट बनाईरह्यो कि युवा आउँदैमा केहि परिवर्तन भईहाल्ने छैन । हामीले यहाँनिर सोच्नुपर्ने छ – हामीलाई चाहिएको युवा हो कि बिकास? भिजन हो कि उमेर?
हामी सबै प्रष्ट हुनु जरुरी छ – ठेक्कापट्टा, कमिसन, गुण्डागर्दि, चाप्लुसी, सोर्सफोर्स र नातावाद कृपावादबाट आएका युवाले यो देशलाई बनाउने होईन झन् क्षयिकरण गर्नेछन् । आबेग र उत्तेजनाले जति राम्रो गर्न सक्छ उति नै बिगार पनि गर्नसक्छ । केहि अध्ययनले मानिसको सुझबुझपुर्ण निर्णय लिन सक्ने उमेर ४२ बर्ष हो भन्छ ।
मानिसहरु बालेनलाई देखाएर ‘ देखिस्, युवाले गर्यो कि नै ?’ भनिरहेका छन् । तर उसले यो सब युवा भएकाले मात्र गरिरहेको छ कि भिजन भएकाले ? युवा भएकाले गरिरहेको छ कि उसको पछाडि बौद्दिक टिम भएकाले ? ऊ राजनैतक रुपमा पुर्वाग्रह रहित भएकाले गरिरहेको छ कि युवा भएकाले ?’
यस्तो लाग्छ यो सब सोच्ने फुर्सद नै छैन कसैलाई । बस् युवा चाहिएको छ । यस्तो लाग्छ – यो कुरा स्वतन्त्र या पार्टिगत रुपमै पनि उठिरहेका युवा उमेद्दवार स्वयम्ले पनि सोचेका छैनन् । लहैलहैमा लागिरहेका छन् बस् ।
सागर ढकालको नाममा , रवि लामिछानेको नाममा या अरु कसैको । मानिसले दुईओटा कुरा मिलेपछि मात्र चमत्कार गर्न सक्छ – तयारी र अवसर । जो सम्पुर्ण रुपमा तयार छैन, उसले अवसर पाएर पनि केहि गर्न सक्दैन ।
तयार हुनु भनेको प्रष्ट दृष्टिकोण, अध्ययन, योजना, बिचार, प्रशिक्षण, परिक्षण र सिप हुनु हो । यो बिना अवसरको खोजिमा भौतिरिईरहेकाहरु अवसर पाए पनि केहि लछारपटार लगाउनेवाला छैनन् – युवा हुन् कि बृद्द । उदाहरणका लागि २०६४ सालको पहिलो संबिधानसभामा सबैभन्दा कान्छो सभासद् अभिषेक प्रताप शाह मात्र २५ बर्षका युवा थिए ।
तर झण्डै साढे ६ बर्ष लामो अवधीमा उनको संभिधानसभामा कहिल्यै कुनै महत्त्वपुर्ण बिचारहरु सुन्न पाईएन । न त उनको क्षेत्र कपिलबस्तु ५ ले नै कुनै नयाँ र महत्त्वपुर्ण योजना पायो ।
तर अपवादका रुपमा केहि ब्यक्तिहरु तयार त देखिन्छन् (स्वर्णिम वाग्लेजस्ता) तर कहिले अवसर पाउँदैनन् या सहि समयमा अवसर पाउँदैनन् र उनिहरुको तयारी खेरा समेत जान्छ ।
अहिले जुन स्वतन्त्र उम्मेदवारीको लहर चलेको छ – यसका केहि फाईदाहरु छन् र केहि बेफाईदा पनि । यसले अहिलेका पार्टिहरुलाई सबल र सक्षम ब्यक्तिहरु नेतृत्त्वमा ल्याउन र काम गरेर देखाउन दबाब दिनेछ । केहिले जितिहाले भनेँ राजनितीप्रति नयाँ पिढिको आकर्षण बढाउनेछ ।
केहि योजना र दृष्टिकोण भएको ब्यक्तिले जितिहालेछ भने सदनमा केहि राष्ट्रिय महत्त्वका बिषयहरुमा महत्त्वपुर्ण बिचारहरु सम्प्रेषण गर्न सक्दछ । केहि नयाँ बिषय र मुद्दाहरु उठाउनसक्नेछ – राज्यलाई झक्झकाउन र जनताको आवाज बन्ने कोशिस गर्न सक्दछ । आफ्नो ठाउँको लागि केहि महत्त्वपुर्ण योजना र बजेटमा लबिङ गर्न सक्दछ ।
तर पनि उसँग धेरै सिमितता हुनेछन् र अधिकांश समय अहिलेको ब्यबस्थामा उसको प्रयास अप्रभावकारी देखिनेछ । कतिपय अवस्थामा त उसले अहिलेको ब्यवस्थाप्रति झन् धैरै निराशा पैदा गरिदिन समेत सक्दछ । नयाँ पिढिलाई राजनितीप्रति झन् धेरै बिकर्षण पैदा गरिदिन पनि सक्दछ ।
अब कुरा गरौँ – पाल्पा क्षेत्र नं १ बाट स्वतन्त्र उमेद्दवारी दिनुभएका बिपिन कँडेलको बारेमा ।
शुरुमा मलाई लागेका उहाँका राम्रा पक्षहरुबारे कुरा गरौँ । उहाँ जोश, जाँगरले भरिएको प्रष्ट बक्ता हुनुहुन्छ । उहाँले आफ्नो ब्यबसायिक जिवनमा नयाँ नयाँ प्रयोग गर्नुभएको छ र अधिकांशमा उहाँ सफल पनि देखिनुभएको छ ।
उहाँ सिर्जनशिल हुनुहुन्छ र केहि नयाँ गर्ने हुटहुटि उहाँसँग म जहिले देख्दछु । उहाँ पुराना पार्टिहरुको राजनितीक संस्कारबाट पर हुनुहुन्छ । मैले जानेसम्म उहाँ आज जहाँ हुनुहुन्छ त्यहाँसम्म आईपुग्न कसैको चाप्लुसी गर्नुभएको छैन । कुनै नाता वा सम्बन्धकै भरमा उहाँले लाभ लिनुभएको छैन ।
उहाँले जति गर्नुभएको छ त्यो आफ्नै क्षमता र बिबेकले गर्नुभएको छ । अरु उमेद्वार भन्दा फरक उहाँलाई जितिसकेपछि खुशी बनाउनुपर्ने कुनै निश्चित स्वार्थसमुह उहाँको पछाडि छैन । अन्य उमेद्दवारलाई जस्तो केहि मुद्दा ऊठाउँदा आफ्नै पार्टिका केहि रिसाउँछन् कि भन्ने चिन्ता पनि उहाँमा छैन ।
सार्वजनिक हितका सबै मुद्दाहरुमा उहाँ प्रष्टसँग आफ्ना बिचारहरु राख्ने गर्नुभएको छ । उहाँको अर्को राम्रो पक्ष भनेको उहाँको चुनाबी प्रचारप्रसार सरल र किफायती छ । भड्काउलो र देखावटि चुनाबी रस्साकस्सीमा उहाँ लाग्नुभएको छैन ।
सस्तो र सादा चुनाबी अभियानले लोकतन्त्रलाई थप मजबुत बनाउनेछ र चुनाब प्रति जनताको बिस्वास सदा कायम गराईराख्नेछ । उहाँको गतिबिधीहरु सामाजिक संजालमा पारदर्शी छन् र उहाँ योजनाहरु छनोट गर्दा जतिसक्दो धेरै मानिसहरुलाई समेट्न सकियोस् भन्ने उध्धेश्यले घरदैलो गरिरहनुभएको छ ।
उहाँका केहि कमजोर पक्षहरु पनि छन् । उहाँ प्राबिधिक बिषयबाट आउनुभएको हुँदा उहाँ संसद निर्वाचित भईसकेपछि पनि धेरै समय संसदिय प्रक्रिया र अभ्यास सिक्दैमा जानेछ । उहाँका हालसम्म बाहिर आएका योजनाहरु हेर्दा ति छरिएका छन् र प्राथमिकताको आधारमा कुन योजना कहाँ पर्दछन् उहाँ स्वयम् नै प्रष्ट देखिनुभएको छैन ।
धेरै योजनाहरु स्थानिय तहको प्रमुखले गर्न सक्ने खालका छन् अर्थात् मेयरको तहमा बसेर काम गर्दा झन् प्रभावकारी हुने खालका । ‘रामपुरलाई परिचित ठाँउ बनाउँछु, रामपुरमा खेतियोग्य जमिनमा बस्ति बिकास भयो ‘ भन्ने जस्ता कतिपय उहाँका धारणाहरु अस्पष्ट र अब्यबहारिक देखिन्छन् ।
कताकता उहाँ संसदिय अधिकारक्षेत्र भित्र रहेर उहाँले गर्न सक्ने काम र पहलको बारेमा उहाँ स्वयम् नै प्रष्ट देखिनुहुन्न । उहाँ स्वयम्ले बेलाबेला दिने अभिब्यक्ति ‘जस्तोसुकै भएपनि युवा आएपछि त जादु छडि प्रयोग गरेर ठिकठाक पारिहाल्छ’ भन्ने खालका छन् । सागर ढकाल जो देउवासँगको सानो ईखले ‘प्रधानमन्त्री हुन्छु’ भन्दै हिडिरहनुभएको छ – उहाँसँगको संलग्नता र गुटगत आबद्दता बिपिन कँडेलका लागि कतिपय अवस्थामा प्रतिउत्पादक हुनसक्दछ ।
अन्त्यमा, लामो समयदेखि पाल्पा क्षेत्र नं १ ले सबल नेतृत्त्व नपाएको कुरा सत्य हो । संसदमा कहिल्यै पनि आफ्ना बिचार नराखि ५ बर्षे कार्यकाल पुरा गर्ने सांसदहरु हामीले पाएका छौँ । यस पटक प्रखर बक्ता र जोश जाँगरले भरिपुर्ण ब्यक्ति स्वतन्त्र उमेद्दवारकै रुपमा सहि हामीले पाएका छौँ ।
हालसम्मको अवस्थामा उहाँ पार्टिगत उमेद्दवार भन्दा नैतिक र बौद्दिक दुबै रुपमा अब्बल देखिनुभएको छ । उहाँलाई आगामी दिनमा थप अध्ययन र थप तयारीको लागि शुभकामना । यहाँको चुनाबी अभियानहरु थप फैलिदै जाओस् र जतिसक्दो धेरै मतका साथ बिजय हुनुहोस् भन्ने कामना गर्दछु ।
