केही दिनयता देशका धेरै स्थानमा आँखा पाक्ने रोग फैलिएको छ । यो रोग लाग्दा आँखा रातो वा पाक्ने हुने तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ ।
यो रोगले आँखाको झिल्लीजस्तो तहमा असर गर्ने प्रतिष्ठानका नेत्ररोग विशेषज्ञ डा. कौशल पोखरेलले बताए । “यो रोगले हाम्रो आँखाको यो सेतो भाग छ, सेतो भागभन्दा अगाडि र आँखाको जुन आइलिड छ, यो ढकनीभन्दा पछाडि एउटा झिल्लीजस्तो तह हुन्छ, त्यो तहलाई असर गर्छ,” उनले भने ।
उनका अनुसार यो रोगका कारणहरू धेरै छन् । तीमध्ये एउटा इन्फेक्सन हो । “इन्फेक्सन भनेको हामीहरूको आँखामा सूक्ष्म जीवाणुहरूले असर गर्ने, जस्तो– ब्याक्टेरिया, भाइरस अथवा प्रोटोजल पर्छ,” उनले भने, “यिनीहरूबाहेक पनि हाम्रो आँखामा एलर्जी, अथवा धुलोधुवाँको असर र रासायनिक कुरा, केमिकल कुराहरू हाम्रो आँखामा पर्यो भने पनि यो समस्या हुनसक्छ ।”
यो रोगका मुख्य लक्षणहरूमा आँखा पोल्ने, बिझाउने, आँसु धेरै आउने, आँखा रातो देखिने, सुन्निनेजस्तो हुने उनले जानकारी दिए ।
“त्यस्तै हामीहरूको आँखा बिहान उठ्दाखेरि टाँसिन सक्छ । र, हामीहरूको दैनिकभन्दा अलि धेरै कचेरा वा चिप्रा लाग्ने समस्या पनि हुनसक्छ,” डा. पोखरेलले भने, “कचेरा वा चिप्राचाहिँ कसैकसैमा एकदम तरल पानीजस्तो हुन्छ भने कसैकसैमा पिपजस्तो पहेँलो पनि हुन्छ । कसैकसैमा चाहिँ रेसाजस्तो तन्किने खालको पनि हुनसक्छ । यो कुन खालको हुन्छ भन्नेचाहिँ हामीहरूको कुन कारणले गर्दाखेरि आँखा पाकेको हो, त्यसले फरक पार्छ ।”
यो रोग लागेमा नजिकको आँखा उपचार केन्द्र वा अस्पतालमा जान उनले सुझाव दिए । त्यसपछि चिकित्सक वा विशेषज्ञले दिएको औषधि मात्र आँखामा हाल्नुपर्ने उनले बताए ।
“त्यस्तै, तपाईंहरूलाई हामीले आइसले आँखा सेकाउन अथवा बरफले आँखा सेकाउने भनेर सिकाएका हुन्छौँ । त्यसको निम्ति तपाईंहरूले आफ्नो घरमा भएको साधारण खानेपानीलाई आइस क्युब बनाएर अथवा बरफ बनाएर त्यसले आँखा सेकाउन मिल्छ,” उनले भने, “त्यो लिएको आइस क्युबलाई फाल्ने, अर्को आँखाको निम्ति नयाँ आइस क्युब लिएर फेरि आँखा सेकाउनुपर्छ ।”
चस्मा लगाएर उपचार गर्न सकिन्छ भन्ने गरिए पनि यो केही हदसम्म मात्र सही भएको उनले बताए ।
“हामीहरूले चस्मा लगाएर यसलाई उपचार गर्नचाहिँ सक्दैनौँ । तर, मैले अघि भनेजस्तै यो रोगीहरूको लक्षणमध्ये बत्ती हेर्न अप्ठ्यारो हुने समस्या पनि हुन्छ, चस्माले तपाईंलाई बत्ती हेर्न अलिकति सजिलो पार्छ र पाकेको आँखालाई धुलोधुवाँबाट केही न केही रूपमा जोगाउनचाहिँ सकिन्छ,” उनले भने ।
आँखा पाकेका मानिसले आँसु पुछ्दा ‘डिस्पोजेबल टिस्यु’हरूको प्रयोग गर्न उनले सुझाव दिए । रुमालको प्रयोग गर्न नहुने उनको भनाइ छ । एउटा आँखामा प्रयोग गरिएका डिस्पोजेबल टिस्युहरू अर्कोमा प्रयोग गर्न नहुने र उचित रूपमा व्यवस्थापन गर्नुपर्ने उनले बताए ।
यो रोग लागेमा आँखा नमाड्न, पानी नछ्याप्न, जथाभावी औषधिको प्रयोग नगर्न, घरबाहिर जाँदा कालो चस्मा प्रयोग गर्न र संक्रमितका सामान अरूले प्रयोग नगर्न प्रतिष्ठानले सुझाव दिएको छ ।

