कालीकोटका गाउँ–गाउँमा औषधि पसल खुलेका छन् । अधिकांशले अवैध तवरबाट मेडिकल चलाइरहेको पाइएको छ । मेडिकल राख्नका लागि फार्मेसी अध्ययन गरी औषधि व्यवस्था विभागबाट स्वीकृति लिनुपर्ने प्रावधान भए पनि कालीकोटका अधिकांश मेडिकल पसल नियमविपरीत सञ्चालन भइरहेका छन् ।
स्वास्थ्यसम्बन्धि सामान्य तालिम लिएकाले पनि मेडिकल सञ्चालन गरिरहेको बताउछन्, स्थानीय बासिन्दा । नियमनकारी निकायले यस्ता मेडिकलको अनुगमनमा कुनै चासो नदिँदा गाउँ–गाउँमा अवैध तरिकाले खुलेका मेडिकलले उपचार गरिरहेका छन् । त्यसरी खुलेका कतिपय मेडिकलले त साइनबोर्डसमेत राखेका छैनन् ।
सरकारी स्वास्थ्य संस्थामा पर्याप्त स्वास्थ्यकर्मी र औषधि नहुँदा धेरैजसो कालीकोटवासी उपचारका लागि तीनै अवैध खुलेका निजी मेडिकल धाउन बाध्य छन् । जनस्वास्थ्य अधिकृत कटक महतले सरकारी स्वास्थ्य संस्थाको औषधि र निजी मेडिकलको औषधिको गुणस्तरमा खासै फरक नपर्ने तर निजी मेडिकलले सुरुमै हाइडोजको औषधि चलाउँदा निजी मेडिकलमा गएर उपचार गर्ने प्रवृत्ति बढेको बताउनु भयो । कालीकोटमा अहिले पनि कति वटा मेडिकल सञ्चालन छन् एकिन भने छैन ।
जिल्ला अस्पतालका कालीकोटका स्वास्थ्य सेवा व्यवस्थापक डा. सङ्केत विश्वर्कमाले भन्नुभयो, ‘‘हामी बिरामीको अवस्था हेरेर सकेसम्म सामान्य औषधि प्रयोग गर्छौ, निको हुन केही समय लाग्छ । एकैपटक कडा डोज प्रयोग गर्दैनौँ, तर निजीले मानिसको स्वास्थ्यको ख्यालै नगरी एकैपटक कडा खालका औषधि प्रयोग गर्छन् र छिटै निको भए पनि त्यसले स्वास्थ्यमा नकारात्मक असर गरिरहेको हुन्छ ।’’
चिकित्सकको अनुमतिविना कडा खालका एन्टिबायोटिक औषधि बिक्री गर्नै मिल्दैन, तर कालीकोटका मेडिकलले डाक्टर नराखी आफैँ बिरामी जाँच गर्ने र जथाभावी तरिकाले औषधि दिने गरेका छन् । धेरैजसो मेडिकल सञ्चालकले अहेवको कोर्ष पढेका छन् । उनीहरुले बिरामीको स्वास्थ्य परीक्षण नै गर्न मिल्दैन । डा. विश्वर्कमाले फार्मेसी पढेकाले मेडिकल राख्न पाउँछन् तर उनीहरुले बरामीको उपचार गर्न नपाउने बताउनु भयो ।
तिलागुफा नगरपालिका–५ का सन्तोष शाहिले सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइने औषधि नदिँदा सर्वसाधारण अहिले निजी मेडिकल जान बाध्य भएका छन् एकातिर निजी मेडिकलले नागरिकको आर्थिक शोषण गरिरहेका छन् भने अर्कातिर स्वास्थ्यमा खेलवाड गरिरहेको बताउनुहुनछ ।
कालीकोटवासी स्वास्थ्य सेवा र पहुँचको हिसाबले निकैपछि परेका छन् । तीन नगरपालिका र ६ गाउँपालिका रहेको कालीकोटमा एउटा जिल्ला अस्पताल, एक प्रदेश अस्पताल, ६ आधारभूत अस्पताल, २७ स्वास्थ्य चौकी, ५० आधारभूत स्वाथ्य केन्द्र र १५ सामुदायिक स्वास्थ्य इकाई रहेका छन् । तर हरेक स्वास्थ्य संस्था पुग्नलाई गाउँमा सडकको पहुँच भने पुगेको छैन । त्यसैले नजिकै रहेका मेडिकलमा गएर उपचार गर्नुपर्ने बाध्यता छन्, कालीकोटवासी ।
नरहरीनाथ गाउँपालीका ४ का विरेन्द्र सहकारीले स्वास्थ्य संस्था नाम मात्रका रहेको बताउनुहुन्छ । ‘‘स्वास्थ्य संस्थामा न स्वास्थ्यकर्मी हुन्छन् न सरकारले निःशुल्क दिने भनेको औषधि नै पाइन्छ,’’ उहाँले भन्नुभयो, ‘‘त्यसैले कमजोर सरकारी स्वास्थ्य संस्था र सेवाका कारण स्थानीय अवैधरूपमा खुलेका निजी मेडिकल पसल धाउन बाध्य भएका छन् । तर नियमन गर्ने निकाय भने मौन छन् ।’’
