प्रधानमन्त्री पत्नी डा. आरजू राणा देउवाले आफू बतास समूहसँग आबध्द नरहेको भनी दिल्लीबाटै खण्डन निकाले पनि उनी सो व्यापारिक घरानाको सल्लाहकार रहेको पुष्टि भएको छ ।
बतास समूह पछिल्लो पटक नारायणहिटी दरबार संग्रहालयभित्रको क्याफे विवादमा मुछिएपछि प्रधानमन्त्री पत्नी राणा सल्लाहकार रहेको बतास फाउण्डेशनको आधिकारिक वेवसाइट(www.batasfoundation.org) हेर्नै नमिल्ने गरी बन्द गरिएको छ । फाउण्डेसनको वेवसाइट तत्काल हेर्न नमिल्ने बनाइए पनि साइटको अर्काइभमा उनीसहित सल्लाहकार टिमको नाम भने देख्न सकिन्छ ।
राणाले हिजो मात्रै केही एनजीओबाहेक अन्य संस्थासँग आफ्नो आवध्दता नरहेको भन्दै विज्ञप्ति जारी गरेकी थिइन् । बतास समूहले विशेषगरी राजधानी काठमाण्डौ,पोखरा र तनहुँका विभिन्न पुरातात्विक र ऐतिहासिक महत्वका सम्पदालाई भाडामा लिएर अनधिकृत तवरले व्यावसायिक कार्य गर्दै आएको भेटिएपछि अहिले चर्को बिरोध भएको छ ।
सोही समूहले पोखराको सेती नदीबाट नदीजन्य पदार्थ उत्खनन् गर्न पोखरा महानगरपालिकासँग सम्झौता गर्ने तयारी गरेपछि वातावरणविद् र भूगर्भशास्त्रीहरुले विरोध गरेका थिए । देउवाको शासनकालमा यी बतासले अरबौँको कारोबार हुने नेपाल बिध्युत प्राधिकरण,नेपाल वायुसेवा निगमजस्ता सँस्थाको बोर्ड डाइरेक्टरमा नियुक्ति खाने गरेका थिए ।
