चितवन, चितवनका वनमा डढेलो फैलँदै गएको छ । हालसम्म करिब ४ हजार हेक्टर बनमा आगलागी भएको डिभिजन वन कार्यालय चितवनले जानकारी दिएको छ ।
हालसम्म जिल्लामा रहेका ४३ वटा वनमा आगलागी भएको डिभिजन वन कार्यालय भरतपुरका रेन्जर सुजिन लामा घोलेले जानकारी दिए । चितवन जिल्लाको कुल क्षेत्रफल २ लाख २३ हजार ७९० मध्ये १ लाख ४७ हजार ४९० हेक्टर क्षेत्रमा वन रहेको छ । अर्थात चितवनको कुल भूभागको ६५.८५ प्रतिशत वनजंगलले ओगटेको छ । जसमा डिभिजन वन कार्यालय अन्तर्गत ५७ हजार ६५० हेक्टर र बरण्डाभार वन संरक्षण क्षेत्र अन्तर्गत १० हजार ३०२ हेक्टर क्षेत्रफल वन रहेको छ ।
बाँकी वन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्दछ । हालसम्म डढेलो राष्ट्रिय निकुञ्जसम्म पुगेको छैन । डिभिजन वन कार्यालय अन्तर्गतको वनमा सरकारद्वारा व्यवस्थित वन ३३ हजार २४८.६३ हेक्टर रहेको छ । सामुदायिक वन ९३ वटा, कवुलियती वन ४३१ वटा, धार्मिक वन ५ वटा र निजी वन १७१ वटा रहेका छन् ।
मानिसकै हेलचक्र्याईंले गर्दा आगलागी हुन पुगेको रेन्जर घोलले बताए । ‘कतै घाँस पलाउने आशले मानिसले जानीजानी आगो लगाउँदा डढेलो फैलेको पाइएको छ भने कतै पिकनिक खान जाँदा डढेलो लागेको पाइएको छ’ उनले भने । प्राकृतिक कारणले डढेलो लागेको अहिलेसम्म पुष्टि नभएको उनले बताए ।
कुनकुन वनमा आगलागी ?
चितवनमा रहेका ८ वटै सवडिभिजन वन कार्यालय अन्तर्गतका वनमा आगलागी भएको छ । इच्छाकामना–मुग्लिन अन्र्तगतमा ओरके, केराबारी बिसौना सामुदायिक वन र सरकारी वन क्षेत्र गरी करिव ८० हेक्टर क्षेत्रफलमा आगलागी भएको छ ।
यस्तै हरिपुर सवभिजन वन कार्यालय अन्तर्गत सोमरी, चण्डीथान, कालिका पिपलटार, कालिखोला देउराली, रानीखोला, तिनकन्या र ईन्द्रणी सामुदायिक वनमा आगलागी भएको छ ।
