काठमाडौं। ८ महिनादेखि त्रिपालले छोपेर राखिएको रेल संचालनका लागि वार्षिक ३५ करोड रुपैयाँ दिएर भारतीय कम्पनीलाई जिम्मा दिइएको छ।
रेल संचालनका लागि भारतीय कोंकर्ण रेलवे कर्पोरेशनसँग वार्षिक ३५ करोड २० लाख रुपैयाँ (२२ करोड भारु) तिर्ने सम्झौंता भइसकेको छ। नेपालले यही कम्पनीसँग एक अर्ब रुपैयाँमा रेलको डिब्बा किनेको थियो। सम्झौता अनुसार रेल चलाउने प्राविधिक समेत भारतबाटै आउनेछन्। भौतिक तथा पूर्वाधार मन्त्रालय स्रोतका अनुसार इक्विपमेन्ट, सिग्नलिङ सिस्टम,एक वर्षको मर्मत खर्च, लगायतको प्याकेज यो सम्झौतामा समेटिएको छ। यो सम्झौतासँगै वेशाखभित्रै रेल संचालनमा आउनेछ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले वैशाखभित्रै रेल संचालनमा आउने जानकारी दिए। कर्मचारीको व्यवस्थापनको काम पनि लगभग सकिएको उनको दाबी छ। नेपालमै करिब १ सय कर्मचारीको व्यवस्थापन भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केही तथा पुराना कर्मचारी भाडामा लिइएको छ।
नेपालमै भर्ना गरिएको कर्मचारीहरु साइटमा गइसकेका छन्। उनका अनुसार एक/दुइ दिन भित्रै तालिम सुरु हुनेछ। मुख्य प्राविधिक भारतबाट आउन लागेका छन्।
भारतीय कोंकर्ण रेलवे कर्पोरेशनसँग २६ जना प्राविधिक ल्याउन सम्झौता भइसकेको छ। उनीहरु मंगलबार जनकपुर आइपुग्नेछन्। जसमा स्टेरिङ मास्टर, पावर कन्ट्रोलर लगायत हुनेछन्। अधिकांश रिटार्यड र केही भने काम गरिरहेका कर्मचारी पनि छन्।
रेल संचालनका लागि पूर्वाधार,ट्रेन सेट,कर्मचारी, स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्युर लगायतको तयारी चाहिन्छ। पूर्वाधार लगभग तयार अवस्थामा छ। भारतीय पक्षले नै रेलमार्गको मर्मत गरेर तयार पारिदिएका छन्। कम्पनीले करिब १० महिना पहिले नै नेपालको अर्डर अनुसारको डिइएमयु ट्रेन सेट तयार पारिदिएको थियो। स्ट्याण्डर्ड अपरेटिङ सिस्टम भारतीय पक्षले नै तयार पारेर दिएका छन्।
मन्त्रीले ट्रली चढेर रेलको तयारी हेरे
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ सहित मन्त्रालयको टोली रेलमार्ग संचालनको तयारी हेरेर फर्केको छ। शुक्रबार र शनिबार दुई दिन टोलीले तयारीको निरीक्षण गरेको हो।
जनकपुरको प्लेटफर्मबाट ट्रली चढेर मन्त्री नेम्वाङ इनर्वा स्टेशन पुगेका थिए। उनले तयारीको निरीक्षण हेरेपछि बैशाखभित्रै संचालनमा ल्याउने बताएका थिए। ‘हामीले छिट्टै ३५ किलोमिटर रेल सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौं तर अझै ठ्याक्कै यहि मितिमा गुड्ने भन्न सकिने अवस्था अझै छैन,’ मन्त्री नेम्वाङले भने, ‘अहिले नै मिति भन्न नसकिए पनि हाम्रो ध्येय बैशाख महिना भित्रै कुर्थासम्म रेल सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाएका छौं।’
उनले रेलको सुरक्षाबारे समेत जानकारी लिएका थिए। रेल्वे सुरक्षाको जिम्मा सशस्त्र प्रहरीले पाएको छ। रेलमार्गका क्लिपहरु चोरी हुने, भवनका सिसाहरु फुटाउने लगायतका गतिविधिहरु हुन थालेपछि रेलवे कम्पनीको आग्रहमा गृह मन्त्रालयले सुरक्षाको जिम्मा सशस्त्रलाई दिइएको हो। रेल्वेको आफ्नै सुरक्षा दस्ता तयार नहुन्जेलसम्म सशस्त्र प्रहरीले नै सुरक्षा दिनेछन्। त्यसका लागि डीएसपीको कमाण्डमा १५० जना सशस्त्र प्रहरी खटिएका छन्। ट्रेन सेट नेपाल ल्याएदेखि सशस्त्र प्रहरीले नै सुरक्षा दिँदै आएका छन्।
भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा जयनगर-जनकपुर (करिब ३५ किमी) रेलमार्ग तयार पारिदिएको हो। बर्दिबाससम्म करिब ६९ किलोमिटर रेल निर्माण गर्न सम्झौता भएको छ। तर मुआब्जा विवादका कारण थप निर्माणले गति लिन सकेको छैन्। तत्कालका लागि भारतको जयनगरदेखि जनकपुरसम्म रेल संचालनमा आउनेछ।
