काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि आक्रोश पोखेका छन् ।
बुधबार बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले नेपाल जनविरोधी अपराधी भएको बताए । नेपाललाई कमरेड भन्न नमिल्ने भन्दै ओलीले उनी जनविरोधी अपराधी भएको बताए ।
नेपाल कमरेड नभई पार्टीलाई ध्वस्त पार्ने एमाले विरोधी भएको बताउदै उनले भने – ‘उनी कामरेड होइन, उनी एमाले विरोधी, जनविरोधी अपराधी हुन् ।’
आफु नेतृत्वको सरकारलाई ढाल्न लागि परेका नेपाललाई एक दिन पोल्ने बताउदै ओलीले भने – ‘गरिबको आँशुले पोल्छ तिमीलाई भन्ने गीतमा जस्तै माधव नेपाललाई पोल्नेछ।’
उनले कांग्रेस नेतृत्वको सरकारले विकासका काम देख्न नसकेको बताए । कांग्रेस नेतृत्वको सरकार बुख्याँचा भएको भन्दै बुख्याँचाले जस्तो बाली खान आउनेलाई तर्साउँन समेत नसकेको बताए ।
अहिलेको सरकार हुती नभएको भन्दै ओलीले विदेशीसँग देशको पक्षमा बोल्न पनि नसक्ने बताए । उनले भने – ‘यो सरकारले विकासका काम देख्नै सक्दैन, हामीले गरेका नियुक्ति खारेजी गरेर अयोग्य व्यक्ति नियुक्त गरेको छ’
