वन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ लाख ७७ हजार ३ सय कित्ता साधारण शेयर (सामुहिक लगानी कोष र कर्मचारीहरुलाई समेत) प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) जारी गरेको छ। निष्काशन आज मिति २०७८ असार ११ देखि १५ गते बैंकिङ समयसम्म रहने छ। रितपूर्व आवेदन नआए निष्काशन असार २५ सम्म खुल्ला रहने छ।
कम्पनीको जारी पूंजी रु.६० करोड ८४ लाखको (३२.५%) हुन आउने रु.१९ करोड ७७ लाख ३० हजार रकम बराबर प्रति शेयर रु.१०० अंकित दरका १९ लाख ७७ हजार ३ सय कित्ता साधारण शेयर मध्य ३० हजार ४ सय २० कित्ता शेयर् (जारी पूंजीको ०.५%) कर्मचारीहरुलाई र ९८ हजार ८ सय ३५ कित्ता शेयर (कुल निष्काशनको ५%) सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी रहने १८ लाख ४८ हजार १५ कित्ता साधारण शेयरहरु प्रारम्भिक सार्वजनिक (IPO) मार्फत बिक्री गर्न लागेको हो।
इच्छुक लगानीकर्ताहरुले न्युनतम १० कित्ता देखि अधिकतम १,००० कित्तासम्म आवेदन दिन सक्नेछन। यस्तै, लघुवित्तले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
कम्पनीको परिचय
जीवन विकास समाज (गैर सरकारी संस्था) ले संचालन गरेको लघुवित्त कार्यक्रमबाट प्रवर्द्धन भएको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको “घ” वर्गको वित्तीय संस्था हो। मिति २०७५ फाल्गुन १६ गते देखि वित्तीय कारोबार सुरु गरेको लघुवित्तले “गरिवी रहित नेपाल” को मुल ध्येयका साथ विपन्न, सिमान्तकृत तथा पिछडिएका वर्गको जीवनस्तर उकास्न १३८ वटा शाखा मार्फत २ लाख ९३ हजार परिवारलाई वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
यस्तै, नेपाल राष्ट्र बैकले जारी गरेको बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने, (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७७ बमोजिम यस वित्तीय संस्था र सल्भ लघुवित्त वित्तीय संस्था लि. धनकुटा तथा गरिबी न्युनिकरण लघुवित्त वित्तीय संस्था लि. राजविराज बीचमा गाभ्ने/गाभिने (मर्जर) कार्य सम्पन्न भई २०७७ भाद्र २२ गते देखि एकीकृत कारोवार हुँदै आएको छ।
संचालक समीति
जीवन विकास समाज, समृद्धि क्यापिटल लिमिटेड, एस आर हाइड्रो एण्ड इन्भेस्ट्मेन्ट प्रा. लि. र अन्य व्यक्तिगत लगानीकर्ताहरुले प्रबर्दन गरेको लघुवित्तको संचालक समीतिको अध्यक्षता श्री बिक्रम राज सुबेदीले गरेका छन भने अन्य ४ जना संचालकहरु पनि संचालक समीतिमा रहेका छन। यस्तै, कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मा २०७६ असार १ गते देखि श्री संजय कुमार मण्डलले सम्हाल्दै आएका छन।
वित्तीय विश्लेषण
वित्तीय कारोबार सुरु गरेको २ वर्ष मात्र पुरा गरेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर पूंजी रु.३३.७५ करोड रहेको छ। यसै आर्थिक वर्षमा सल्भ लघुवित्त वित्तीय संस्था लि. धनकुटा तथा गरिबी न्युनिकरण लघुवित्त वित्तीय संस्था लि. राजविराज सँग गाभ्ने/गाभिने (मर्जर) कार्य सम्पन्न भई २०७७ भाद्र २२ गते देखि एकीकृत कारोवार गरेको लघुवित्तको २०७७/७८ को तेश्रो त्रैमाससम्म आइपुग्दा शेयर पूंजी रु.४१.०६ करोड कायम रहेको छ। हाल लघुवित्तले रु.१९.७७ करोड बराबरको शेयर सर्वसाधारण (कर्मचारी सहित) को लागि निष्काशन गर्ने प्रकृयामा रहेको छ। सार्वजनिक निष्काशन पश्च्यात लघुवित्तको शेयर पूंजी रु.६०.८४ करोड रहने छ जुन राष्ट्र बैंकको निर्देशन अनुसार राष्ट्रिय स्तरको लघुवित्त वित्तिय संस्थाले पुराउनु पर्ने न्युनतम पूंजी भन्दा माथि रहने छ। आर्थिक वर्ष २०७६/७७ अनुसार, कम्पनीको जगेडा तथा कोषहरु रु.६९.२७ करोड रहेको छ जुन अघिल्लो वर्षको तुलनामा ९१.२६% बढी हो। शेयर पूंजीमा १४१.०७% र जगेडा तथा कोषहरुमा ९१.२६% को वृद्धि सँगै कुल शेयरधनी कोष १०५.१५% ले वृद्धि भई रु.१.०३ अर्ब कायम रहेको छ। यस्तै, लघुवित्तले व्यवसाय तर्फ रु.५.६३ अर्ब निक्षेप र रु.३.३८ अर्ब कर्जा सापट लिई कुल रु.९ अर्ब संकलन गरेर रु.१०.३८ अर्ब कर्जा प्रवाह गरेको छ। पूंजी संकलन र कर्जा प्रवाहको वृद्धि अघिल्लो वर्षको तुलनामा क्रमश १७.८३% र १३.३१% रहेको छ।
संचालनको छोटो अवधिमै उत्कृष्ट प्रतिफल कमाउन सफल लघुवित्तले आ. ब. २०७६/७७ मा रु.१.७४ अर्ब व्याज आम्दानी गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा १८५.२५% बढी हो। लघुवित्तले खुद व्याज आम्दानी, कुल संचालन आम्दानी र संचालन मुनाफाको वृद्धि सँगै खुद नाफामा उल्लेख्य ६५.४५% को वृद्धि गरी रु.३५.४२ करोड कमाउन सफल भएको हो।
यस्तै, लघुवित्तले आफ्नो जगेडा तथा कोषहरु आर्थिक वर्ष २०७९/८० सम्ममा रु.२.८५ अर्ब पुर्याउने प्रक्षपण गरेको छ जुन चुक्ता पुजीको ४५०% भन्दा धेरै हुने छ। यस्तै, कम्पनीले बजारमा आफ्नो हिस्सा बडाउन र अन्य लघुवित्तसँग प्रतिस्पर्धा गर्न आफ्नो व्यवसायमा आक्रामक वृद्धिको रणनिति अपनाउने देखिन्छ। प्रक्षपण अनुसार लघुवित्तले २ वर्षमा रु.१३.३८ अर्ब निक्षेप र रु.१३.४३ अर्ब कर्जा सापट गरी जम्मा रु.२६.८१ अर्ब पूंजी संकलन गरेर रु.३१.४५ अर्ब कर्जा प्रवाह गर्नेछ। सोही आर्थिक वर्षमा रु.४.३ अर्ब व्याज आम्दानी गर्ने र खुद नाफामा पनि वृद्धि गरी रु.९३.४ आर्जन गर्ने लघुवित्तले लक्ष्य लिएको छ।
वित्तीय अनुपातहरु
आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन अनुसार लघुवित्तको प्रति शेयर आम्दानी रु.१०४.९७ रहेको छ जुन अघिल्लो अर्थिक वर्षको ३१.३७% कम हो। यस्तै, प्रति शेयर किताबी मुल्य पनि घटेर रु.३०५.२७ कायम रहेको छ । पूंजी वृद्धिका कारण शेयर संख्यामा वृद्धि हुन गई प्रति शेयर आम्दानी र प्रति शेयर किताबी मुल्यमा गिरावत आएको हो। यस्तै, आ. व. २०७७/७८ को तेश्रो त्रैमासको विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दनी रु.१३७.३२ र प्रति शेयर किताबी मुल्य रु.३८८.२८ रहेको छ। कम्पनीले लक्ष्य अनुसार प्रगति गरेमा आ. व. २०७९/८० मा प्रति शेयर आम्दानी रु.१५३.५३ र प्रति शेयर किताबी मुल्य रु.५६९.५१ कायम हुने देखिन्छ। यस्तै, कम्पनीको अन्य वित्तिय अनुपातहरु पनि राम्रो अवस्थामा रहेको देखिन्छ। पूंजी पर्याप्तता अनुपात (Capital Adequacy Ratio), निष्कृया कर्जा अनुपात (NPL) र अन्य वित्तिय अनुपातहरु राष्ट्र बैंकको मापदण्द भित्र र अन्य लघुवित्तको तुलनामा राम्रो अवस्थामा रहेको छ।
