नेपालको कुल राष्ट्रिय गार्हस्थ्य उत्पादन (जिडिपी)मा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी २७ प्रतिशत छ । कृषि क्षेत्रमा पनि धानपछि सबैभन्दा बढी डेरी क्षेत्रको योगदान करिब ९ प्रतिशत छ । नेपालको डेरी क्षेत्रमा निजी र सरकारी उद्योगले ठूलो लगानी गरेका छन् । जसकारण अहिले नेपालको डेरी उद्योग करिब आत्मनिर्भरउन्मुख छ । उद्योगी–व्यवसायीका अनुसार मुलुक डेरी क्षेत्रमा ८० प्रतिशत आत्मनिर्भर छ । सरकारले नीतिगत सहयोग गरे चाँडै पूर्ण रूपले आत्मनिर्भर हुन सकिने उद्योगीहरूको भनाइ छ ।
मुलुकमा पशुपालनको संख्या बढ्दै गएकाले उत्पादनमा कुनै चिन्ता लिनुपर्ने अवस्था छैन । तर, उद्योगलाई टिकाउने र किसानलाई नाफामुखी बनाउने कुरामा नीतिगत पहल हुन जरुरी देखिन्छ । पछिल्लो समय प्रदेश सरकारहरूले बजेटमै घोषणा गरेर दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान दिने व्यवस्था कार्यान्वयन गरिरहेका छन् । यद्यपि, उत्पादन बढाउने मात्र नभई उत्पादित दूधको खपतमा समेत विशेष योजना बनाउनुपर्ने देखिन्छ ।
कृषि डायरी ०७८ अनुसार नेपालमा गाई तथा भैँसीको संख्या १ करोड २७ लाख १६ हजार रहेको छ । यसमा गाई मात्रै ७४ लाख ५८ हजार ८ सय ८५ रहेको छ । नेपालमा वार्षिक २३ लाख १ हजार मेट्रिकटन दूध उत्पादन भइरहेको छ । यो तथ्यांक विगतको तुलनामा सुधारोन्मुख हो । बर्सेनि दूध उत्पादनको दर बढिरहेका कारण मुलुक चाँडै दूधमा आत्मनिर्भर हुन सक्ने देखिएको छ ।
कुल उत्पादितमध्ये १० लाख ७१ हजार टन दूध उद्योगहरूले नियमित रूपमा संकलन गरिरहेका छन् । यसबाट प्रशोधित दूध, पाउडर दूध, घिउ, पनिर, आइसक्रिम, नौनीलगायतका दुग्ध पदार्थ उत्पादन भई बजारमा पुगिरहेका छन् । त्यस्तै, २१ लाख लिटर दूध भने मिठाई बनाउन तथा चियापसल र रेस्टुरेन्टहरूमा खपत भइरहेको छ । ५० प्रतिशत दूध भने किसानहरूले आफैँ उपभोग गर्ने गरेका छन् ।
एउटा मानिस स्वस्थ रहन वार्षिक ९१ लिटर दूध उपभोग गर्नुपर्ने मापदण्ड छ । हाल नेपालको उत्पादनअनुसार वार्षिक एक व्यक्तिलाई ७८ लिटर उपलब्ध हुन सक्ने स्थिति छ । नेपालमा रहेका ५५ लाख घरपरिवारमध्ये ५ लाख घरपरिवार पशुपालन पेसामा छन् । र, यो क्रम बढ्दै गएको छ । दूध क्षेत्रको बजार विस्तार दिनहुँ भइरहेकाले यस क्षेत्रमा लगानी पनि बढ्दै गएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले गरेको एक अध्ययनअनुसार दूध प्रशोधन तथा दुग्ध पदार्थ विविधीकरण गर्न स्थापित चिलिङ सेन्टरलगायत दुग्ध उद्योग, सहकारी, किसान, उद्योगी–व्यवसायीको यो क्षेत्रमा कुल २० अर्ब रुपैयाँ लगानी रहेको छ ।
देशका ६५ जिल्लामा दुग्ध उत्पादक कृषकहरूबाट उत्पादित दूध संकलन भइरहेको छ । देशभरका किसानहरू सहकारीमा आबद्ध भई दूध बिक्री गर्दै आएका छन् । दूध संकलन तथा बजारीकरणका लागि देशभर १ हजार ८ सय ७५ दुग्ध उत्पादक सहकारीहरू छन् । मुलुकभर करिब ४ सय दुग्ध प्रशोधन उद्योग रहेका छन् र यी उद्योगहरू दैनिक १ हजारदेखि १ लाख ५० हजार लिटरसम्म दूध प्रशोधन गर्ने क्षमताका छन् । नेपालको डेरी क्षेत्र बिस्तारै आत्मनिर्भरउन्मुख भइरहेका वेला विदेशी लगानी भित्र्याएर स्वदेशी उद्योगीको मनोबल गिराउन नहुने तर्क हुन थालेका छन् ।
